Thursday, 08 October 2015 07:08

शिक्षकले चाहेमा गर्न सक्छन् अभियान पूर्व पुग्दा

कृष्ण मल्ल, बुटवल

राम्रो गर्ने शिक्षकलाई सम्मान गर्रौ । राम्रो गर्नेबाट सिकौं । गर्न खोज्नेलाई सघाऔं । नगर्ने शिक्षकलाई गर्न बाध्य पारौ । नगर्नेहरु पछि पर्दै जान्छन् । आखिर सम्मान पाउने अधिकार गर्नेहरुको हो । त्यसैले गर्ने शिक्षकलाई सम्मान हुने अवसर र मञ्च दिऔं । अनुभव बाड्ने मौका दिर्औ । सामुदायिक विद्यालय सुधार अभियान, शिक्षकले चाहेमा गर्न सक्छन् अभियानले राखेको अपेक्षा यहि हो, जुन शिक्षकले गरेका छन् । यसै अपेक्षालाई पूरा गर्न शिक्षक, अभिभावक र शिक्षाकर्मीको अनुभवबाट सिक्ने र सिकाउनेहरुको साझा मञ्चको विकास अभियानले गरिरहेको छ । अभियान कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणका जिल्ला पुग्छ । यसै क्रममा पाँचथर पुग्दा अभियानले ३३ सौं संस्करण पूरा गरिसकेको छ । सूर्याेदय शैक्षिक प्रतिष्ठानको संयोजन, जिल्ला शिक्षा कार्यालय झापा, इलाम र पाँचथर साथै जिल्लास्थित शिक्षा सरोकारवालाहरुको सक्रियता र विभिन्न संस्थाहरुको सहयात्रामा आयोजना भई आएको कार्यक्रमले सामुदायिक विद्यालय सुधारको शैक्षिक अभियानले गर्न चाहने शिक्षक र शिक्षाकर्मीलाई थप उर्जा दिएको छ । काईदा सिकाएको छ । फाइदा गरेको छ ।

शाख जोगाउन आतुर झापाली शिक्षकः

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्तर्गत ३१ औं संस्करण झापा कार्यक्रम भब्यताका साथ भैरहदा पूर्वबाट विद्यालय सुधारको उद्घोष भएको महशुस भयो । जिल्लाका विद्यालयको प्रतिनिधित्व हुने गरी तयार गरिएका विद्यालयका भिडियो डकुमेन्ट्रीबाट शिक्षक र शिक्षाकर्मीहरुको ध्यान विद्यालयका कक्षा कोठासम्म पुर्याएपछि कार्यक्रमको औपचारिक शुरुवाद भयो । विद्यालयका राम्रा र सुधार गर्नुपर्ने पक्ष समेटिएको भिडियोले शिक्षकहरुलाई आफ्नो विद्यालयतर्फ फर्कायो ।

परिवर्तनको मुलको रुपमा चिनिएका झापाका शिक्षकहरुले विद्यालय शिक्षा सुधारमा शाख जोगाउने प्रतिबद्दता जनाए । झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेलको नेतृत्वमा जिल्ला शिक्षा कार्यालयको सम्पूर्ण टीमको प्रभावकारी व्यवस्थापन, कार्यक्रममा विद्यालयमा भएका राम्रा पक्षको जानकारी, शिक्षकले गरेका प्रतिवद्दताले झापाले विद्यालय सुधारको नेतृत्व गर्न सक्ने संभावना देखाएको छ । अभियान अन्तर्गतको कार्यक्रममा जिल्लाका ३ यस ५० शिक्षक शिक्षक सहभागी भएकामा शिक्षक, अभिभावक, स्रोतव्यक्तिहरु, विद्यालय निरीक्षकहरु र जिल्ला शिक्षा कार्यालयका पदाधिकारीहरुको संलग्ताले अभियान टोलीलाई हौसला मिल्यो । शिक्षकहरुमा हौसला थप्ने र विद्यालयको पठनपाठनमा गुणस्तरीयता ल्याउन चर्चा गर्ने यो कार्यक्रमले सकारात्मक प्रभाव पारेको प्रतिक्रिया सहभागीहरुले दिए । यो अभियानपछि शिक्षकहरुले विद्यालयको वर्तमान अवस्थामा गुणस्तरीय सुधारका लागि जोश र ईष पलाएको बताए । जिल्ला विकास समितिले कुल बजेटको १४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरेको, मातृभाषा शिक्षाका लागि बजेट बिनियोजन गरि कामको थालनी गर्ने तयारी गरिरहेको जानकारी मिल्यो ।

असल शिक्षक र असल बिद्यालय जन्माउने इलामको शंकल्पः

झापाको कार्यक्रम लगत्तै अभियान टोली ३२ सौं संस्करणका लागि इलाम पुग्यो । त्यहाँ पुग्दा इलामको शैक्षिक स्तर बृद्धि गर्न शिक्षकलाई हौसला प्रदान गर्दे शिक्षकहरुलाई राम्रा अभ्यासबाट सिक्ने अवसर जुटाइदियो । कार्यक्रममा अभियान टीमले तयार गरेको जिल्लाका ६ वटा विद्यालयको भिडियो प्रदर्शन गर्दै राम्रा अभ्यास र सुधारका पक्षमा शिक्षाका जानकारहरुको अनुभव आदान प्रदान गरिएको थियो । शैक्षिक स्तरबृद्धिका सन्दर्भमा शिक्षक, अभिभावक, शिक्षक नेतृत्व, जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम, कार्यालय टीम र शिक्षाकर्मीहरुबीच भएको खुला छलफललाई शिक्षकहरुले निकै लाभप्रद महसुस गरेका थिए । उनीहरुले कार्यक्रमबाट विद्यालय सुधार्ने राम्रा सिकाई अनुभव गरेको बताएका थिए । कार्यक्रमपछि शिक्षकहरुले आफूले सिकेका सिकाईलाई विद्यालयमा प्रतिविम्वित गर्ने धारणा राखे । जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीले कार्यक्रम अबधिभर समय प्रदान गरेर जिल्लामा शिक्षामा भएका राम्रा र सुधार गर्नुपर्ने पक्षबारे जानकारी लिए । तर जति रमणिय र आर्थिक समुन्नतको बाटोमा लम्किरहेको इलाममा भने सामुदायिक विद्यालयको अवस्था त्यति सन्तोषजनक भेटिएन । चियाबगानभित्रकै विद्यालयको दुर्गतीले इलामलाई जिस्क्याइरहेको भान भयो । यसै बीचमा ईलाममा शिक्षकहरुले असल शिक्षक र असल विद्यालय बनाउनमा लागिपर्ने शंकल्प गरे ।

द्यालय सुधारको आन्दोलन छेड्ने पाँचरमा उद्घोषः

इलाम सकिएसँगै अभियान टोली ३३ सौं संस्करणका लागि पाँचथर लाग्यो । पाँचथर पुगेपछि विद्यालय सुधारको आशा राख्दै जुटिरहेका शिक्षा कार्यालयको टीम, शिक्षक, अभिभावक, राजनैतिक दलसँग साक्षात्कार भयो । विद्यालय सुुधारका लागि नमूना विद्यालयको घोषणा गरि अरु विद्यालयलाई समेत बाटो देखाइरहेको पाँचथरले विद्यालयले मात्र नभई अरु जिल्लाले पनि सिक्ने काम गरिरहेको भेटियो । कार्यक्रममा विद्यालयका राम्रा अभ्यास सुन्दा र गर्दा गर्दै अलमल परेका बिषय छलफलको बिषय बनिरहदा पाँचथर अरु जिल्लाभन्दा पृथक छ र विद्यालय शिक्षा सुधारको आन्दोलन चलिरहेको छ भन्न कर लाग्थ्यो । शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने अभियान चलिरहदा एउटा जिल्ला शिक्षा अधिकारीले चाहे पनि त विद्यालय सुधार हुने रहेछ भन्ने सन्देश मिल्यो । १३ विद्यालयलाई नमूना विद्यालय घोषणा गरिसकेको पाँचथरले विद्यालय सुधारको आन्दोलनलाई उत्कर्षमा पुर्याउने उद्घोष गर्यो ।

दलकै पछाडि लाग्दै विद्यालय बिगारिहेको आरोप लागिरहदा पाँचथरमा शिक्षककै पेशागत संगठनहरुको विद्यालय नमूना बन्नतर्फ अग्रसर भएको देखियो । राजनैतिक दलका प्रतिनिधिहरु जिल्ला शिक्षा अधिकारीको अभियानमा सरिक हुँदै सहयोग गरिरहेको छन् । झापा, इलाम र पाँचथर तीन जिल्लामा आयोजना भएका अभियानको कार्यक्रममा टोलीका अभियन्ताहरुले शिक्षकहरुमा गर्न सकिने आशा, गर्न सकिने बाटा र विश्वास जगाउनमा उत्प्रेरित गरे । गर्न र सुध्रिन खोज्ने शिक्षकले चाहना राख्छ, नगर्नेले बाहना खोज्छ भन्ने मान्यता राख्ने शैक्षिक अभियन्ता प्रा. डा. विद्यानाथ कोइरालाले सिकाईलाई व्यवहारसँग जोड्ने उपाय र समस्याको गाठलोलाई फुकाउने उदाहरणहरु पस्किदै संभावनाहरु देखाए । सार्क शिक्षक महासंघका अध्यक्ष मोहन ज्ञवालीले शिक्षकलाई म को हुँ ? भनि चिनाउनमा उत्प्रेरित गर्दै बालबालिकाको पढ्न पाउने, सिक्न पाउने अधिकार सुनिश्चित गर्नमा जोड दिए । ज्ञानोदय माध्यमिक विद्यालय, काठमाण्डौ, वाफलका पूर्व प्रधानाध्यापक धनञ्जय शर्माले विद्यालय राम्रो बनाउनमा गरेको प्रयासकाको अनुभव बाडे । सूर्योदय शैक्षिक प्रतिष्ठानका अध्यक्ष हरि थापाले विद्यालयमा भएका राम्रा पक्षबाट विद्यालय सुर्धान सकिन्छ भन्ने आशा रहेको र त्यो आशालाई शिक्षकले नै गर्न सक्ने उदाहरण देखाए । चितवनका अग्रेजी शिक्षक टिकाराम रेग्मीले अग्रेजीलाई हाउगुजी नबनाई सिकाउन सकिने गोरेटोहरु देखाए । अभियन्ताहरुको भनाईले कार्यक्रमको बीच बीचमा उत्साहित बनाउँदै, पेशाप्रति गंभीर बनाउँदै, गरौ गरौ भन्ने भावना जगाउँदै शिक्षकलाई परिवर्तन गराउन झकझकाएको थियो ।

गर्ने शिक्षक र ठग्ने शिक्षकका कुराः

अभियानको अन्तरक्रियामा गर्ने शिक्षक र ठग्ने शिक्षकको भनाई फरक देखिए । भनाईबाट पनि विद्यालय कस्ले सुधार गरिरहेको छ र कस्ले विद्यालयप्रति वेवास्ता गरिरहेको छ भन्ने अनुमान लगाउन सकिन्थ्यो । फल लागेको हाँगो झुकेको र नलागेको हाँगो ठाडै रहन्छ भन्ने भनाई यहाँपनि लागू भएको पाईयो । इमान्दार र विद्यालयका कक्षा कोठामा खटिएका शिक्षकहरु मैले यो काम यसरी गरे, राम्रो भयो । काम गर्दै जादा यहाँ अलमलियो, अब कसरी गर्ने ? खालका जिज्ञासा राखेको पाइयो ।

शिक्षकहरुले शिक्षक नआउँदा मितेरी कक्षा व्यवस्थापन गर्ने, सानो कक्षालाई जग सम्झी सिकाईमा महत्व दिने, बालमैत्री कक्षा व्यवस्थापन गर्ने, विद्यालयको भौतिक निर्माणमा पनि बालमैत्री गर्ने, हाजिरी कार्डको व्यवस्था गरी अभिभावकसम्म पुर्याउने, विद्यालयमा आर्थिक, शैक्षिक र भोतिक पारदर्शीता कायम राख्ने, शिक्षकलाई समान ब्यवहार गर्ने, मासिक रुपमा उत्कृष्ठ विद्यार्थी, उत्कृष्ठ अभिभावक र उत्कृष्ठ शिक्षक घोषणा गरि सम्मान गर्ने, विद्यालय कम्पाउण्डमा बगैचा निर्माण गर्ने, आमा समुह बनाई बचत गर्ने, अभिभावक अन्तरक्रियाबाट समस्या पहिचान गर्ने र सहयोगको जिम्मेवारी दिने, पाठयोजना निर्माण र सहपाठी कक्षा अवलोकन गराउने, बाल क्लब, जुरेसलाई सक्रिय बनाउने गरिरहेको र यसले विद्यालयमा सुधार आएको अनुभव सुनाए । यस्ता अभ्यास विद्यालयमा गरिरहदा शिक्षकहरुले गणितका धारणा बसाउने उपाय छन् कि ?, अग्रेजी किन हाउगुजी भयो ? पाठ्यक्रम र पाठलाई व्यवहारमा जोड्ने कसरी होला ? शैक्षिक सामग्री जुटाउन कसरी सकिएला ? कमजोर विद्यार्थीलाई सिकाई कसरी प्रभावकारी बनाउने ? खाली पिरीयडको व्यवस्थापन कसरी गर्ने होला ? अभिभावकको सहभागीता बढाउने तरीका छन् कि ? जस्ता जिज्ञासा पनि राखे ।

अर्कोतर्फ अभियानमा गर्ने शिक्षकका भन्दा नगर्नेका ठूला स्वर पनि सुनिए । ठूलो स्वरका कुरा सुन्दा उसैले मात्र विद्यालय शिक्षा धानिरहेको छ जस्तो लाग्थो । विद्यालय शिक्षा बिग्रनुमा सरकारले सहयोग नगर्नु, नीतिमा कमजोरी हुनु, विद्यालयमा शिक्षक दरबन्दी नहुनु विद्यालयको आम्दानी नहुनु, विद्यार्थीबाट शुल्क लिन नपाइनु, विद्यालय भवन, कक्षाकोठा, फर्निचर नहुनु, कम्पाउण्ड वाल लगाउन नसक्नु, चेतना नभएका अभिभावक हुनु, जनजाती दलितका बालबच्चा बढी हुनु, पाठ्यक्रम व्यवकारिक नहुनु जस्ता समस्या राखेको पाईयो । कार्यक्रमका लागि तयार गरिएका विद्यालयको डेढ दर्जन भिडियो डकुमेन्ट्रीमा पनि शिक्षकहरुको यसै खालका भनाईहरु राखेका देखियो । शिक्षकले सरकारलाई औला देखाईरहदा विद्यालयको कक्षा कोठामा रहदा एउटा विद्यार्थीले पिशाव लाग्दा समेत शिक्षकको आदेश मान्नुपर्ने अवस्थामा त्यहाँनेर त्यस विद्यार्थीको सरकार को ? भनि शिक्षकलाई सोध्न मन लाग्यो ।

नीतिले मिति कुरेको मुद्दाः

कार्यक्रममा यस्ता शिक्षामा मुद्दाहरु उठे जसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामुदायिक विद्यालय सुधारका लागि सहयोग गरिरहेका छैनन् । सामान्य लाग्ने तर समय, ठाउँ र परिस्थिती अनुसार असर गरिरहने । एउटा मुद्दा थियो– सरकारी शिक्षकमा जागीर खानेले नीजि स्कुल खोल्न पाउने कि नपाउने ? । यो मुद्दाले प्रश्न सोध्दै थियो अब त्यो शिक्षक लगानी गरेको नीजि विद्यालयको विद्यार्थी खोज्न जान्छ कि सामुदायिक विद्यालयको विद्यार्थी भर्ना अभियानमा हिड्न ? सरकारी शिक्षकको तलबबाट खोलेको स्कुलको माया मान्छ कि नपढाए पनि कार्वाही हुन नसक्ने सामुदायिक विद्यालयको ।

अर्को मुद्दा थियो– विद्यालय सुधार योजना (एसआइपी) बनाउने मात्रै हो कि त्यसको लेखाजोखा शिक्षा कार्यालयमा हुनुपर्ने पनि हो ? यो भनाईले भन्दथ्यो विद्यालयले विद्यालय सुधार योजना बनाएर शिक्षा कार्यालय पठाउँछन् । त्यो दराजको कुनै कुनामा थन्किन्छ । शिक्षा कार्यालयले न त त्यो योजना हेरेर सुझाव दिन्छ, न त विद्यालयले योजनामा मागेको बजेट निकासा नै । यति मात्र होइन योजनामा भएका कार्यक्रमहरु के कसरी भैरहेका छन् भनेर निरीक्षण अनुगमन नै हुन्छ ।

अन्तरक्रिया कार्यक्रममा, खेलकुद र संगीतलाई पेशा मान्ने कि नमान्ने ? अग्रेजी, गणित र विज्ञान बिषयलाई किन अनिवार्य गर्ने ? नम्बरलाई गुणस्तर मान्ने कि सीप र जीउने कलालाई ? बिकल्प दिएर स्कुल किन दुई थरी बनाउने, एउटै हुने नीति किन नबनाउने ? शिक्षकको कार्य सम्पादन मूल्याकंन र पुरस्कृत गर्दा सिकाई उपलब्धिसँग किन नजोड्ने ? जस्ता मुद्दाहरु उठान भए ।

आशा लाग्दा पक्षः

झापाली शिक्षक शाख जोगाउन खोजिरहेको देख्दा दुई दर्ज बढी सामुदायिक विद्यालय नमूनाको रुपमा विकास गरिरहेको पाउँदा आशा लाग्ने ठाउँहरु भेटिए । विद्यालय राम्रो बन्नुमा त्यहाँका शिक्षक, त्यहाँका अभिभावक नै सक्रिय भएको अनुभव भयो । हाम्रोलाई गर्दैनौ, राम्रोलाई गछौं भन्ने संस्कारको विकास भइरहेको सुन्दा पनि झापा सामुदायिक विद्यालय सुधारमा पछि पर्दैन भन्न कर लाग्यो । झापामै झापामा २०७१ को भदौदेखि फागुन महिनाभित्रमा देशका विभिन्न ५५ वटा विद्यालयले भ्रमण गरेको नमूना विद्यालय पनि भेटियो । दुवागढीमा रहेको बालसुवोधीनी निमाविलाई शिक्षा कार्यालय, झापाले शिक्षा दिवसको अवसरमा उत्कृष्ट विद्यालय घोषणा गरेको थियो । मितेरी कक्षा व्यवस्थापन, हाजिरीमा आएको दिनको संख्या भन्ने चलन, कक्षा कोठाबाटै गल्ने र नगल्ने फोहरको व्यवस्थापन, १९ बिगाहा जमिनमा बृक्षरोपण, अर्गानिक तरकारी खेती, मासिक उत्कृष्ठ विद्यार्थी घोषणा, अभिभावकको आमा समुह र बचत कार्यक्रम जस्ता अभ्यास विद्यालयले गरेको छ । विद्यालयका प्रधानाध्यापक विश्व थापाको लगन, शिक्षक टिमको सहयोग र अभिभावकको चासोका कारण विद्यालयले जिल्लामै नाम कमाउन सफल भएको छ । ग्रामीण क्षेत्रमा रहेरपनि स्कुल चौन उमाविले जिल्लामै उत्कृष्ट नतिजा बनाएको गत शैक्षिक शत्रमा २ सय २५ दिन विद्यालय खुल्नु पनि शिक्षा क्षेत्रमा खुसीको कुरा हो ।

इलामको चुलाचुलीमा रहेको बालज्योती माविका प्रधानाध्यापक रुकमान सुब्बाले अभिभावकको मन जित्न गरेको प्रयास, सिकाई क्रियाकलाप सुधार्न खेलेको भूमिका, बहुवन माविका प्रधानाध्यापक दिनाराज निरौलाले देउसी भैलोबाट संकलन गरेको २२ लाख सहयोग प्रशंसनिय देखिए । त्यसो त पाँचथरका जागृती प्राविका प्रधानाध्यापक डिल्लीराम लुइटेलले विद्यालयलाई आफ्नै घर सम्झी हेरचाह गरिरहेको, फिदीम उच्च माविका प्रधानाध्यापक पुष्पप्रसाद भण्डारीले अभिभावकको मन सामुदायिक विद्यालयतर्फ फर्काई संस्थागत विद्यालयलाई चुनौती दिएको, सुम्निमा निमाविकी प्रधानाध्यापक इन्द्रकला राईले नमूना विद्यालय बनाउनमा गरेको प्रतिज्ञा उल्लेख गर्ने लायक थिए । शिक्षकका पेशागत संगठनहरुले अब हामी कक्षा कोठातिर फर्किन्छौं भनि गरेका प्रतिवद्दता, राजनैतिक दलका स्थानिय नेताहरुले विद्यालय सुधारमा जिल्ला शिक्षा कार्यालयलाई साथ दिने बचनबद्दताले आशाको संचार गरायो ।

र अन्त्यमाः

सामुदायिक विद्यालयमा राज्य संयन्त्र फितलो भैरहेको अवस्थामा विद्यालय र विद्यार्थीप्रति गैरजिम्मेवार बन्ने शिक्षकलाई दण्ड, सजाय र जरीवाना गर्न सकिएको छैन् । त्यसैले काम नगर्ने, कुरा ठूलो गर्ने, सिन्को नभाच्ने, बस्सिस र पुरस्कृत हुने, बाहना गर्ने राज्य र नीतिलाई दोष दिने, काज देखाउने, राजनैतिक दलको पिछलग्गु बन्ने, जागिर जोगाउन संघ संगठनको आड लिने शिक्षक पनि छन् । यो अवस्थाले गर्ने र उर्जाशील शिक्षकलाई समेत नैराश्य पारेको छ । यसैले विद्यालय शिक्षा सुधार गर्न विद्यालयमा यस्ता जिज्ञासाबारे साझा रुपमा छलफल गर्ने र अभ्यास गर्न थाल्ने हो कि ः

  • ठग शिक्षकलाई शिक्षकका पेशागत सघ संगठनमा आवद्दता नगराउने हो कि ?
  • पेशागत संघ संगठनभित्र कुन सदस्यका विद्यालय कस्ता भनि समिक्षा गर्ने संस्कार बसाल्ने हो कि ?
  • विद्यार्थीको नजरमा बर्षमा असल शिक्षक को भनेर चुन्न लगाउने हो कि ?
  • शिक्षकको नजरमा विद्यालयमा राम्रो गर्ने शिक्षक को हो छान्ने हो कि ?
  • अभिभावकको नजरमा विद्यालयमा राम्रो देखिने शिक्षा चुन्ने हो कि ?
  • विद्यालयको काममा सबैभन्दा बढी समय दिने शिक्षक को हो, रेकर्ड राख्ने प्रणालीको विकास गर्ने हो कि ?
  • सिकाई उपलब्धिको आधारमा विद्यालयले पुरस्कृत गर्ने व्यवस्था गर्न सकिने हो कि ?
  • स्रोतकेन्द्र, जिल्ला, विभाग र मन्त्रालयले शिक्षक पुरस्कृत गर्दा मापदण्ड तोक्ने हो कि ?

त्यसैले चााहने, गर्ने उर्जाशील शिक्षकलाई प्रोत्साहन गर्न र नगर्ने, नचाहने गुरुत्वबिहीन शिक्षकलाई चौतर्फी रुपले दबाब दिन आवश्यक छ । जुन दबाबले त्यस्ता शिक्षक कि त सुध्रि जाउन, कि त बाध्यभएर आफै ठाउँ खाली गरुन । जय शिक्षा ।