Wednesday, 16 September 2015 06:29

शैक्षिक परिवर्तनको बाटोमा रामेछाप

न्युन विद्यार्थी उपस्थिति, नियमित पढाइ नहुने, एक अर्कालाई दोष पन्छाउने प्रवृत्ति सामुदायिक विद्यालयहरूको साझा समस्या नै हो । गडवारी मन्थलीको नागकन्या माध्यमिक विद्यालयमा पनि यस्तै समस्या थियो ।

न्युन विद्यार्थी उपस्थिति, प्रधानाध्यापकको अनियमित उपस्थिति, सहायक प्रधानाध्यापकमा जिम्मेबारी बोधको अभाव, एकले अर्कालाई दोषरोपण गर्ने, वहाना बनाउने परिपाटी र दायित्वबोधको अभावमा नागकन्या माविले आफूलाई अभिभावकविहिन टुहुरो जस्तै महसुस गरेको अवस्था थियोे, करिब ९ महिना अघि ।

शिक्षक व्यवस्थापन गर्न नसक्दा एकबर्ष सम्म कक्षा ८ को गणित पढाइ नभएको अवस्था थियो । गणित विषय नै नपढी ९ मा उत्तीर्ण भएका विद्यार्थीको भनाइले विद्यालयको अवस्था टिठलाग्दो देखाएको थियो । शिक्षक विद्यालय नै नआउने, आएपनि नपढाउने गुनासो विद्यार्थीहरूले गरेका थिए । शिक्षकहरूमा निस्क्रियता र गरीब माझीका छोराछोरी भनेर हेप्ने प्रवृद्धि थियो । माझी समुदायका बालबालिकाहरूको बाहुल्यता रहेको यस विद्यालयको शैक्षिकस्तर खस्कदै गएको थियो । एउटै कक्षामा तीनवटासम्म कक्षाका बालबालिका राखेर पढाउने शैलीले विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव प्रष्ट देखिन्थ्यो ।

यस्तै यस्तै कथा ब्यथा समेटिएको भिडियो सामुदायिक विद्यालय सुधार, ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ कार्यक्रममा प्रस्तुत गरिएको थियो । भिडियोमा देखिएको यो दृष्यले प्रधानाध्यपक बुद्धिराज फुयाँललाई निकै आक्रोसित बनायो । राम्रा अभ्यास भएका विद्यालयहरूसँगै आफ्नो विद्यालयको टिठलाग्दो अवस्थाले प्रधानाध्यपक घिमिरेलाई विद्यालय सुधारका लागि दवाव सिर्जना ग¥यो ।

९ महिना पछि पुनः भिडियो संकलनका लागि पुग्दा नागकन्या माध्यमिक विद्यालयमा केही सुधारको संकेत देखा प¥यो । विद्यालयमा कक्षाकोठा सजावट, नियमित पढाइ, शिक्षकमा टिमवर्क संगै शिक्षकमा आएको उत्साहजनक परिवर्तनले साच्चै शिक्षकमा रिअलाइजेशन र सुधारको चाहना नै परिवर्तनको मुख्य साधक हो भन्ने अनुभव भएको थियो ।

विद्यालयको अवस्थाका बारेमा प्रतिक्रिया दिएका प्रधानाध्यापक बुद्धिराज फुयाँलले विद्यालयमा आफू नहुँदा सहायक प्रधानाध्यापकले जम्मेबारीबोध नगरेको, कक्षामा मोवाइलको घण्टी बजिरहँदा शिक्षकमा जिम्मेबारीबोध नदेखिएको, विद्यार्थीले शिक्षक नआएर पढाइ नभएको, कक्षामा तौलीहरू झरिरहँदा कक्षा नसजाएको जस्तो दृष्यले आफूलाई दिक्क र नरमाइलो लागेको बताउनुभयो ।

प्रधानाध्यापक बुद्धिराज पनि मन्थलीमा सम्पन्न शिक्षकले चाहेमा गर्न सक्छन् कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ– ‘कार्यक्रमबाट फर्केर आएपछि तुरुन्तै सरसफाई, कक्षाकोठा सजावट, पाठयोजनासहित शिक्षक साथीहरूलाई समयमा कक्षाकोठा उपस्थित हुने वातावरण मिलाए । मन्थली उच्च माविको छेउमा नागकन्या पनि छ है भन्ने बनाउन लागेको छु ।’ उहाँले थप्नुभयो, ‘कार्यक्रमबाट सुधार गर्ने प्रेरणा मिल्यो । सवैसँग समन्वय गरेर अगाडी बढ्ने पाठ सिकेको छु शिक्षकले नै गर्ने हो, सुधार गर्न सकिन्छ यहि विश्वासका साथ अघि बढेको छु ।’

सामुदायिक विद्यालय सुधार शिक्षकबाटै संभव छ । शिक्षक सक्रिय भइदिए विद्यालयको शैक्षिक स्तर वृद्धि हुनेमा धेरै अभिभावक र सरोकारवालाहरू सहमत छन् । शिक्षकमा जिम्मेबारीबोध भए कुनै पनि विद्यालयको नतिजा अहिलेकै जस्तो रहँदैन । सवैको दृष्टि र चासो सामुदायिक विद्यालयको खस्कँदो नतिजाप्रति नै केन्द्रित छ ।

शिक्षकमा विद्यालय राम्रो बनाउने जाँगर पलाउन सके केही न केही सुधार संभव छ । शिक्षकमा केही गरौं भन्ने भावना पलाउन सके विद्यालयको शैक्षिक स्तर उक्सनेमा कुनै शंका छैन । रामेछापकै ठेडीखोला, भटौलीको सेतीदेवी प्राथमिक विद्यालयले यहि संकेत गरेको छ ।

शिक्षकले चाहेमा गर्न सक्छन् अभिायनको कार्यक्रम पूर्व गरिने भिडियो निर्माणका क्रममा देखिएको पढाई नियमित नहुने, विद्यार्थीको न्यून उपस्थिति, शैक्षिक सामग्री प्रयोग नै नहुने र शिक्षक नियमित नआउने समस्या थियो । गर्नपर्छ भन्ने थाहा हुदाँहुदै पनि शिक्षकले शैक्षिक सामग्रीको प्रयोग गरेको पाइएको थिएन । शैक्षिक सामग्री निर्माण र शिक्षण विधि बारेमा तालिम लिएको तर व्यवहारमा सहि रुपमा प्रयोगमा उतार्न नसकिएको शिक्षक कृष्णदास श्रेष्ठ स्वीकार गर्नुहुन्छ ।

भिडियोमा समेटिएको प्रतिक्रियामा विद्यालयका दैनिक समस्याहरूको मिलेर समाधान भन्दा पनि एक अर्कालाई दोषी देखाउने, पन्छने र शिक्षक एकले अर्काेलाई नगन्ने, विदा स्वीकृत नगरी हिड्ने जस्ता प्रवृत्ति रहेको सेतीदेवी प्राविका प्रअ मुकुन्दप्रसाद शर्मा बताउनुहुन्छ ।

करिब ९ महिनापछि यस विद्यालयले सकारात्मक पहलको संकेत देखाएको छ । शिक्षकको नियमित उपस्थिति, विद्यार्थीको उपस्थितिमा सुधार,  शिक्षक निर्देशिका र कार्यतालिका लागु गरेलगत्तै विद्यालयले सुधारको आभाष दिलाएको छ ।

शिक्षकले चाहेमा गर्न सक्छन् अभिायनको कार्यक्रममा सहभागी भएपश्चात प्रअ शर्मामा हौसला थपियो । कार्यक्रमबाट फर्के लगत्तै शिक्षकलाई डायरीको व्यवस्था, अनिवार्य शैक्षिक सामग्रीको प्रयोग, कक्षाकोठामा शैक्षिक सामग्रीको सजावट, नियमित उपस्थिति लगायतमा गरिएको प्रयासले केही गरौं भन्ने हौसला थपेको छ ।

शिक्षण विधि, खेल विधि स्वतः स्फूर्त सिक्ने वातावरण र शिक्षणलाई प्रभावकारी बनाउने प्रतिज्ञाले विद्यालयमा छुट्टै रौनक देखाएको छ ।  शर्मा भन्नुहुन्छ – ‘पहिलेको तुलनामा सुधार हुँदै आएको छ खुसी लागेको छ ।’

उहाँ थप्नुहुन्छ, ‘गर्नुपर्ने छुटेका कुराहरू यथार्थ रुपमा बुझ्यौं । जसले राम्रो अभ्यास गरेका थिए तिनीहरू देख्यौ र सिक्ने मौका पायौं, कमजोरी महसुस ग¥यौं र त्यसलाई कहाँकहाँ कसरी सुधार गर्ने भनेर लाग्यौं प्रयोग ग¥यौं । नर्सरी र कक्षा १ मा अंग्रेजीमाध्यममा पढाइ थाल्यौं । वोर्डिङका विद्यार्थी आउन थालेका छन् । गरे हँुदोरहेछ भन्ने लागेको छ ।’ उहाँ भन्नुहुन्छ – ‘शिशु कक्षाको तयारी गर्दैछौं । त्यसलाई पूरै वरीपरी नै शैक्षिक सामग्री नै शैक्षिक सामग्री राखेर किताव नै नचाहिने बनाउने तयारी गरिरहेका छौं ।’

यस्तै सुधारका सकारात्मक संकेत र सन्देश समेटिएको विद्यालयहरूको भिडियो जिल्लास्तरीय मूल्याङ्कन कार्यक्रममा प्रस्तुत गर्न रामेछापमा पुनः फलोअप कार्यक्रम आयोजना भयो ।  निश्चय नै एसएलसी परीक्षाको नतिजा प्रकाशन भएको भोलीपल्ट गरिएको कार्यक्रममा शिक्षकहरूको जोशिलो उपस्थिति थियो ।

कार्यक्रमको लागि तयार गरिएका ६ वटा विद्यालयको भिडियो प्रस्तुत भए । दुईवटा पहिले भिडियो खिचिएकै विद्यालयहरूमा परिवर्तन हेर्न गएका थियौं । थप चारवटा नयाँ विद्यालयका परिवर्तन पनि भिडियोमा संकलन गरिएका थिए । ति भिडियोमा सुधार स्पष्ट देखिन्थ्यो ।

पहिले सबै शिक्षकहरू कक्षाकोठामा विद्यार्थीको पुस्तक खोसेर पाठ्यपुस्तकमा आधारित भएर पढाएको अवस्था देखिन्थ्यो । यसपटक शिक्षकहरूको छुट्टै तयारी थियो । विद्यार्थीहरू खुसी र शिक्षकहरूमा बालकेन्द्रित, बालमैत्री सिकाईमा बढि चासो राखेको पाइन्थ्यो । साना कक्षाहरूलाई बढि ध्यान दिएको र ठूला कक्षाका विद्यार्थीहरूसँगको सहभागितामुलक शिक्षण् सुधारको पहिलो कडी थियो ।

भिडियोले सकारात्मक वातावरण निर्माण गरेपछि जिल्ला शिक्षा अधिकारी युवराज पौडेलको प्रस्तुति रह्यो । त्यसैगरी डा. विद्यानाथ कोइराला, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली, शिक्षा पत्रकार समूहका महासचिव रोश्ना सुब्बा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कोषाध्यक्ष रमेश रुपाखेतीका उत्प्रेरक प्रस्तुतिले सहभागीहरूलाई थप हौसला मिल्यो । शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरू र स्रोतव्यक्तिहरूले आफ्ना जिज्ञासा, सुझाव र अनुभवहरू सुनाउनुभयो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू र जिल्लास्थित शिक्षकका ट्रेड युनियन पदाधिकारीहरूका विषय केन्द्रित प्रस्तुतिहरू पनि सहभागीहरूलाई हौस्याउने र सहयोग गर्ने भावनाबाट प्रेरित थिए ।

फलोअप मूल्याङ्कन कार्यक्रममा सबैले महसुस गरेको महत्वपूर्ण पक्ष भनेको शिक्षकहरू र अन्य सरोकारवालाहरूमा विद्यालयको जग बलियो बनाउने कार्यका लागि देखिएको तत्परता नै थियो । यसका लागि शिक्षकहरूले कहाँ त्रुटी भयो र कसरी सुधार्ने भन्ने महसुस गर्न थालेको देखियो । शिक्षकहरूमा अव त केही गर्नैपर्छ भन्ने पक्षमा चासो थियो । पहिलो कार्यक्रममा नीतिगत र प्रशासनिक गुनासाहरू बढि सुनिएका थिए । यसपटक कक्षाकोठाको सिकाईसम्बन्धी र पाठ्यपुस्तकसँग सम्बन्धित पक्षहरू बढी उद्घाटित भए ।

सवै जिज्ञासा र उत्साहलाई डा. विद्यानाथ कोइरालाले सरल ढंगबाट बुँदाबुँदामा आधारित भएर थप प्रश्न तेस्र्याउँदै प्रष्ट पार्दे कक्षाकोठा सुधार्न सुझाउनु भएको थियो । अन्त्यमा जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले आफ्नोतर्फबाट विना भेदभाव शैक्षिक गुणस्तर सुधारका पहलहरूलाई निरन्तरता दिने भन्दै कार्यक्रमको समापन गर्नुभयो ।

दिनभर सहभागीहरूलाई मन्थलीको गर्मीको कुनै प्रवाह थिएन । कार्यक्रम अवधिभर हल खचाखच थियो । हलभित्रै उभिएर पनि र बाहिरै बसेर पनि धेरैले कार्यक्रम सुन्ने र सिक्ने अवसार गुमाउनु भएन ।

सबैको सक्रिय सहयोग र सहभागितामा कार्यक्रम सम्पन्न भयो । जिल्लास्थित संघसंस्थाहरू, विद्यालय र जिल्ला शिक्षा कार्यलयको संयोजन उत्कृष्ट थियो । कार्यक्रम सफल बनाउन जिल्लाकै कुशल प्रधानाध्यापकका रुपमा परिचित गुञ्जबहादुर श्रेष्ठको उत्साहजनक सक्रियता सम्झनयोग्य थियो । अर्काेपटकको कार्यक्रममा रामेछापले विद्यालय सुधारको नवयुग देखाउनेछ ।