Wednesday, 16 September 2015 06:26

शिक्षकले चाहेमा गर्न सक्छन् रोल्पा जिल्लाका सन्दर्भमा

केही बर्षदेखिसामुदायिक विद्यालय सुधारका लागि शिक्षकले चाहेमा गर्न सक्छन्” अभियान निरन्तर चलिरहेको छ । सामुदायिक विद्यालयको खस्कदो स्तरप्रति चासो र चिन्ता लिनेहरूको यो साझा अभियानले रोल्पा जिल्लामा पनि कार्यक्रम गर्ने निर्णय ग¥यो । जिल्ला शिक्षा कार्यालय रोल्पाको सक्रिय समर्थन र सहयोग पछि अभियान टोलीले जिल्लाका विभिन्न ६ वटा विद्यालयहरूको भिडियो तयार गर्न टोली खटायो ।

टोलीले जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा भिडियो छायाँकन सम्पन्न ग¥यो । संकलित विद्यालयहरू केही सुधारका अभ्यास गर्दै गरेका र केहीे टिठलाग्दो विद्यालयका थिए । रेउघा रोल्पाको  पितराज निम्न माध्यमिक विद्यालयको अवस्था दयनीय थियो । न्युन विद्यार्थी उपस्थिति, विना तयारी शिक्षण, शिक्षकमा आत्मविश्वासको कमी, शैक्षिक सामग्रीको अभाव जस्ता समस्याले विद्यालयमा प्रत्यक्ष असर गरेको देखिन्थ्यो ।

विद्यालय व्यवस्थापन समितिको रिक्तता, विद्यालयका शिक्षक परिवारभित्र नै मनमुटाव र शिक्षक व्यवस्थापनमा देखिएको समस्याले अभिभावकमात्र चिन्तित हैन विद्यार्थीमा पनि पढ्ने जाँगर थिएन । यसले विद्यालयको खस्कदो शैक्षिकस्तरलाई प्रतिविम्बित पनि गथ्र्याे । नियमित कक्षा नहुने समस्या विद्यालयको रोगजस्तै थियो । विद्यार्थीलाई पुस्तकका विषयवस्तु कण्ठस्थ गराउने र सानो तहबाटै विद्यार्थी कमजोर भएकोजस्ता वहानावाजीले यहाँ पनि निकै सताएको थियो ।

शिक्षकमा पूर्व तयारी कमैमात्र हुने र शैक्षिक सामग्री प्रयोग नगर्ने आदतले शिक्षकको अल्छीपन प्रष्ट झल्किन्थ्योे । शिक्षकले बच्चा थोरै भएकाले दिग्दारी लाग्ने गरेको कुरा खुलेरै भनिरहेका थिए । शिक्षक कृष्णबहादुर पुन आफूले शैक्षिक सामग्री प्रयोग नगरेको स्वीकार्दै हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘केही सामग्री त विद्यालयमा छन् तर मैले प्रयोग गरेको छैन । शैक्षिक सामग्री प्रयोग गर्न लाग्दा पुस्तक पढाएर सकिदैन ।’

शिक्षकमा सक्रियताभन्दा बहानाबाजी र एकले अर्कालाई दोष पन्छाउने आदत सवैमा थियो । शिक्षक लीला आचार्य प्रधानाध्यापकको सवैसँग राम्रो सम्बन्ध नभएको बताउँनुहुन्छ । यस्ता थुप्रै समस्याले विद्यालय टुहुरोजस्तै देखिन्थ्यो । विद्यार्थीका लागि सहज सिकाइ वातावरण थिएन ।

बागेश्वरी प्राथमिक विद्यालय तित्रिकोटमा पनि समस्या उस्तै थियो । नियमित पठाइ नहुने, शिक्षकमा पूर्व तयारीको अभाव, अव्यवस्थित सिकाइ वातावरणजस्ता पक्षको प्रभावले न्युन विद्यार्थी उपस्थिति र सिकाइस्तर खस्कदै गएको देखिन्थ्यो । अँध्यारा कक्षाकोठा, शिक्षकमा सुधारको भावनामा कमीजस्ता पक्षका कारण सरकार र अभिभावकको लगानीबाट प्रतिफल निस्केको अवस्था थिएन ।

तर सवै विद्यालयहरूको अवस्टा टीठ लाग्दो थिएन । उहि सेवा सुविधा पाउने नजिकैका केही विद्यालयले भने आफूलाई नमुनाका रुपमा उभ्याएका थिए । लिवाङकै बालकल्याण उच्च माध्यमिक विद्यालयको सिकाइ वातावरण र शैक्षिकस्तर उत्कृष्ट, अनुशरण योग्य र लोभलाग्दो थियो । यो विद्यालयका शिक्षकमा पेशाप्रतिको निष्ठा, कार्यकुशलता, पाठयोजनाको पूर्वतयारी, सिकाइसँग परिपुरक आचासंहिताको पालना, शिक्षक विद्यार्थी अनुशासन, योजनाबद्ध शिक्षण, समदुरी र राम्रो समन्वयजस्ता पक्षका कारण उच्च सिकाइस्तर प्राप्त गर्ने काइदा थियो ।

आसपासमै रहेको बालमन्दिर प्राथमिक विद्यालय साच्चिकै बालमन्दिरकै पथमा देखिन्थ्यो । यो विद्यालयमा पनि राम्रा अभ्यासहरू थिए । निजी बोर्डिङभन्दा कम देखिदैन थियो यो विद्यालय । तर यस्ता विद्यालयहरूको सिकाई उपलब्धिबाट अन्य विद्यालयले सिक्ने अवस्था थिएन । समग्रमा भन्नैपर्दा, राम्रा र केही गरौं भन्ने विद्यालय र शिक्षक कमै देखिन्थे । यस्तै दृष्यहरू देखिन्थ्यो प्रतिनिधिमुलक भिडियोमा ।

भिडियो निर्माणपछि कार्यक्रमको तयारी भयो । १० बर्षे जनयुद्धको केन्द्रमा रहेको जिल्लाको शैक्षिक उपलब्धि टीठलाग्दो थियो । मुस्किलले १० प्रतिशतले एसएलसी उत्तीर्ण गरेको यो जिल्लाको शैक्षिक अवस्थामा सुधारको पहल थाल्न कार्यक्रम निकै सान्दर्भिक पनि थियो । । अभियानका बारेमा जानकार जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानको चाजोपाजो मिलाउनुभयो । ५ सय भन्दा बढी प्रधानाध्यापक र शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरू त्यसैगरी राजनीतिज्ञ, गैरसरकारी संस्थाका प्रतिनिधिहरू, पत्रकार र शिक्षा प्रशासकहरू समेत करीब ६ सय सहभागीको उपस्थितिमा पहिलो कार्यक्रम आयोजना भयो ।

यस कार्यक्रममा जिल्लाका प्रतिनिधिमुलक विद्यालयको भिडियोे प्रस्तुत गरियो । भिडियोपछि खुला अन्तरक्रिया चल्यो । भिडियोले शिक्षकहरूलाई विद्यालय शिक्षाको अवस्थाप्रति सोच्न बाध्य गरायो । राम्रो गर्ने र केही गरौं भन्ने शिक्षकलाई हौसला थप्यो । त्यसपछि शिक्षकहरूले आत्मआलोचना गरे । सवैले आफ्नो पेशा र सेवाप्रति विचार मन्थन गरे । अनि आफ्ना जिज्ञासा र प्रतिवद्धता खुलेर प्रस्तुत गरे ।

अन्तरक्रिया आफूलाई माझ्ने उपयुक्त थलो बन्यो । शिक्षकका लागि, नीति निर्माताका लागि र कार्यान्वयन गराउने निकाय जस्तैः जिल्ला शिक्षा कार्यलयका लागि । अन्तरक्रियामा थुप्रै जिज्ञासाहरू आए ।कक्षाकोठा केन्द्रित छलफलबाट उत्तिकै समाधानका उपायहरू पनि निस्किए ।

जिल्लाको शैक्षिक स्तर उकास्न कक्षाकोठा केन्द्रित छलफलले शिक्षकहरूमा ऊर्जा थप्यो । शिक्षकहरूमा हौसला थपियो । शिक्षकमा केही गरौं भन्ने जाँगर पैदा भयो । शिक्षकहरूले हौसिंदै आगामी एक बर्षभित्रै सुधारको संकेत देखाउने उद्घोष गरे र प्रतिवद्धता जनाए ।

एकबर्षपछि पुनः शिक्षकले गरेका प्रतिवद्धतापछि आएका सुधार भिडियोमार्फत् संकलन गर्ने योजना बन्यो । पहिलो कार्यक्रमका लागि भिडियो खिचिएका कमजोर विद्यालयमा पुनः गएर त्यहाँको परिवर्तन हेर्ने योजना अन्तर्गत अभियान टोली २ वटा पहिले गएका विद्यालय र कार्यक्रममा भाग लिएर गएपछि राम्रो गर्न तम्सिएका ४ वटा नयाँ विद्यालयको भिडियो खिच्ने कार्य भयो । पहिलो कार्यक्रमका लागि भिडियो खिच्दा टिठलाग्दो देखिएको बागेश्वरी प्रावि तित्रिकोट र  पितराज निमावि रेउघामा उल्लेख्य सुधार भएको पाइयो ।

विद्यालय सुधार शिक्षकले चाहेमा नै गर्न सक्छन् । शैक्षिक क्रान्तिका कुरा शिक्षकबाटै सम्भव छ । हो, शिक्षकको प्रतिवद्धतासँगै केही गरौं भन्ने शिक्षकले देखाइदिए विद्यालयमा शैक्षिक परिवर्तन अर्थात शैक्षिक क्रान्ति । एक बर्षभित्रै रोल्पाका विद्यालयमा सुधारका संकेतहरू देखिए ।

पहिले भन्दा फरक, पितराज निमाविमा शिक्षकबीचको मनमुटाव र प्रधानाध्यापक विद्यालय नआउने समस्या समाधान भइसकेको थियो । सिकाइस्तर बढाउने योजना बनाएर समग्र विद्यालय टिम लागेका कारण नियमित पठनपाठन र शिक्षकमा पूर्वतयारी र योजनाबद्ध शिक्षणजस्ता पक्षले सिकाइ वातावरणमा स्पष्ट सुधार देखिन्थ्यो । वालमैत्री वातावरण, शैक्षिक सामग्री निर्माण तथा प्रयोगले बढवा पाइसकेको थियो ।

शिक्षकमा केही गरौ भन्ने भावना जागेको छ । प्रधानाध्यापक नगेन्द्रबहादुर बुढा अहिले सक्रिय भएर लाग्नुभएको छ । विद्यार्थी विद्यालय नआउने समस्या हटाउन र विद्यार्थी नियमित गराउन प्रअ बुढाले अभिभावकसँग सोझै सम्पर्क गर्ने गर्नुभएको छ ।  उहाँ सिकाईस्तर सुधार्न योजना नै बनाएर अगाडी बढेको बताउनुहुन्छ । शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीचको दूरी हटिसकेको छ । लामो समयदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति गठन भइ नियमित बैठक बस्ने गरेको र समितिले विद्यालयका समस्या समाधानका ध्यान केन्द्रित गरेको छ ।

यसले सकारात्मक सन्देश त दिएकै छ, यसको प्रत्यक्ष प्रभाव सिकाइ प्रक्रियासँग पनि जोडिएको छ ।  अहिले प्रत्येक शिक्षकमा शैक्षिक सामग्री लिएरमात्र कक्षाकोठामा छिर्ने बानी बसिसकेको छ । यसले विद्यार्थीको सिकाई प्रक्रियामा सहजता ल्याएको छ । पहिले कक्षामा भन्दा कक्षाबाहिर ढुङ्गाका गोटी खेलाउँदै रमाइरहेका देखिने विद्यार्थी रमाई–रमाई कक्षाको सिकाइ प्रक्रियामा सामेल भएका देखिन्छन् ।

शिक्षकमा अभियानको प्रभाव आशालाग्दो रुपमा झल्किन्थ्यो । सीप र क्षमता भएर पनि प्रयोग गर्न नसकेको अनुभव गर्ने शिक्षकलाई अभियान प्रेरणादायी भएको उनीहरूको भनाइ छ । शिक्षक लीला आचार्यले आभियानले आँखा खोलिदिएको बताउनभयो । ‘हामी शिक्षकले नै धेरै गर्न सकिने रहेछ, आँखा खुलेको छ, अहिले हामी विद्यार्थीको सिकाइस्तर बढाउन योजना बनाएरै लागेका छौं ।’ आचार्यले स्पष्ट पार्नुभयो ।

यस्तै पक्षहरू बागेश्वरी प्राथमिक विद्यालयमा पनि देख्न पाइन्थ्यो । अँध्यारा कक्षाकोठा र निराशाले भरिएका जस्ता लाग्ने शिक्षकहरूको अनुहार उज्यालो र सक्रिय देखिन्थ्यो । सिंगारिएका कक्षाकोठा, शिक्षकमा उत्साह देख्दा त्यसको प्रतिविम्ब विद्यार्थीका मुहारमा पनि देखिन्थ्यो ।

प्रधानाध्यापक केवलप्रसाद आचार्य निकै उत्साहित देखिनुहुन्थ्यो । अहिले उहाँलाई अन्य शिक्षकहरूले पनि राम्रो सहयोग गर्ने गरेका छन् । वालकक्षाबाटै सुधार थालिएको छ । पूर्व तयारीका साथ शिक्षकले नियमित कक्षा लिने, शैक्षिक सामग्री निर्माण गर्ने र कक्षाकोठामा त्यसको प्रयोगलाई उहाँले अनिवार्य बनाउनुभएको छ ।

यस्तै अन्य विद्यालयहरूमा पनि पहिलेको भन्दा अवस्था सुधार भएको प्रत्यक्ष अनुभव गर्न सकिने वातावरण मिलेको छ । लिवाङको बालकल्याण उच्च माध्यमिक विद्यालय, बामरुकको तारा माध्यमिक विद्यालयमा पनि गएको बर्षभन्दा थप सुधार भेट्टाउन सकिन्छ ।

जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ र जिशिका परिवार उत्साहित थियो । किनपनि भने सुधार तथ्याङ्कैमा पनि देखिइसकेको थियो । जिल्लाको यस बर्षको एसएलसीको नतिजा पनि १० बाट बढेर २५ प्रतिशत पुगेको थियो । गाँउ–गाँउका विद्यालयहरूमा बालकेन्द्रिरत र सिर्जनशील सिकाई अभ्यासहरू बढ्दै गएका छन् । शिक्षकहरूबीचको आपसी एकता झाँगिंंदै गएका छन् । सदरमुकामकै सामुदायिक विद्यालयले निजी विद्यालयबाट आफ्नो विद्यालयमा १ सय ५० भन्दा बढी विद्यार्थी थपिएको बताइरहेका छन् ।

समग्र जिल्लामा देखिएको सुधारको संकेतले शिक्षकमा थप सुधारका लागि उत्साह थपेको छ । दिनभर चलेको खुला छलफल शिक्षकहरूका जिज्ञासा केन्द्रित थियो । अन्र्तिक्रयात्मक थियो । उनीहरूका अधिकांश जिज्ञासा कक्षाकोठाको शैक्षिक वातावरण कसरी सुधार्ने भन्नेमा नै केन्द्रित थियो । प्राध्यापक डा. विद्यानाथ कोइराला, पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा, शिक्षक नेतृत्व, जिल्लास्थित राजनीतिज्ञ र स्थानीय निकायका प्रतिनिधिहरूले आफ्ना अनुभव सुनाउँदै कक्षाकोठालाई प्रभावकारी बनाउन शिक्षकहरूलाई हौसला थप्नुभएको थियो ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक प्रमोदकुमार साह, उपनिर्देशक भोजराज शर्मा, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली, ज्ञनोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कोषाध्यक्ष रमेश रुपाखेती, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव कृष्णदत्त जोशी, शिक्षा पत्रकार कृष्ण मल्ल, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अनुभव र सुझावले शिक्षकलाई थप हौस्याएको थियो ।  त्यस्तै स्थानीय राजनीतिज्ञहरूले ढुक्कसाथ शैक्षिक सुधारमा लाग्न दिएको सुझावले जिल्ला शिक्षा कार्यलयलाई समेत जिल्लाको शैक्षिक अवस्था सुधार केन्द्रित हुन सहजता मिलेको थियो ।

कार्यक्रममा रोल्पाका शिक्षकहरूलाई थप ऊर्जा दिएको प्रतिक्रिया दिदै पुनः शैक्षिक क्रान्ति ल्याउने उद्घोष गरेका थिए । सरोकार राख्ने सवैले रोल्पाको शिक्षा सुधार गरेर शुभ समाचार फैलाउने प्रतिज्ञा पनि गर्नुभएका थियो । गणित, विज्ञान, अंग्रेजीसहित ४ वटा विषयगत शिक्षक समूह गठन गर्दै आपसमा सिक्ने र सिकाइ आदानप्रदानको वातावरण बनाउन जिल्लास्तरीय घोषणापत्रसमेत जारी भएको थियो । यसले रोल्पामा सकारात्मक र रचनात्मक वातावरण तयार हुँदै गएको छ ।

सवैलाई एकठाँउ ल्याएर जिल्लाको शैक्षिक माहोल सकारात्मक बनाउन यो अभियान कोशेढुङ्गा नै सावित भएको प्रतिक्रिया सहभागीहरूले दिएका छन् । जिशिअ गुरुङले जिल्लाको शैक्षिक वातावरण सुधारमा अभियानले पुलको भूमिका खेलेकोे भन्दै खुसी व्यक्त गर्नुभयो ।  अभिायनले धेरै शिक्षकलाई हौसला थपेको छ, केहीलाई चुनौति पनि । जे भएका छन् सवै सकारात्मक परिवर्तन र सुधारकै लागि भएका छन् । विश्वास छ, यसले रोल्पाको शैक्षिक माहोल गुणस्तरीय बन्दै जानेछ ।