Sunday, 15 January 2017 11:13

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान शिक्षकलाई अभिप्रेरित गर्ने कार्यक्रम

शिक्षक–अभिभावकहरुको सक्रिय सहभागीतामा ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्तर्गतको पहिलो जिल्लास्तरीय कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । सामुदायिक भवनको हलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षाकर्मी, जिल्ला शिक्षा कार्यालयका कर्मचारी, स्रोतव्यक्तिलगायत शिक्षा सरोकारवालासहित ४ सयबढिको सहभागिता रहेको थियो । कक्षाकोठा केन्द्रित एक दिने अन्तरक्रियात्मक कार्यक्रममा शिक्षक र शिक्षा सरोकारवालाहरुका लागि निकै उपयोगी थियो ।

पुस ४ गते सम्पन्न कार्यक्रमले राम्रो गर्ने र गर्न चाहने शिक्षक–अभिभावकलाई हौस्याउनुका साथै ‘केही राम्रो गरौ’ भन्नेहरुका लागि सकारात्मक उर्जा थपेको थियो । सहभागीबाट आएका राम्रा अभ्यास र विद्यालय सुधारका सवालमा उठेका जिज्ञासाहरुमा केन्द्रित छलफलले विद्यालय हातामा देखिने समस्याहरु सुल्झाउन सहयोग पुगेको थियो ।
सिकाई प्रक्रियासँग सम्बन्धित समस्या, विद्यालय वातावरण सुधार, शैक्षिक सामग्रीको व्यवस्थापन, शिक्षक–विद्यार्थी नियमितता र नीतिगत समस्यालगायतका शिक्षकका जिज्ञासामा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले उपायहरु सुझाउनु भएको थियो ।

बीच–बीचमा विभिन्न जिल्लामा भएका राम्रा अभ्याससम्बन्धी भिडियो हेर्दै जिल्लालाई शैक्षिक स्तरमा माथी लैजाने भन्ने सवालमा सहभागितामूलक छलफल र अनुभव आदान प्रदान गरिएको थियो । विद्यालयलाई सिकाई थलो बनाउने विषयमा केन्द्रित शिक्षकका जिज्ञासामा सरोकारवालाहरुले आफ्ना अनुभव र सुधारका लागि गर्न सकिने पक्षहरु सुझावका रुपमा प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा क्षेत्रीय शिक्षा निर्देशनालयका निमित्त निर्देशक रमेश दाहालले अभियान धनकुटामा आएर शिक्षकलाई उत्प्ररित गरेकोमा खुसी व्यक्त गर्दै अभियान शिक्षक उत्प्रेरणामा आधारित भएको धारणा राख्नुभएको थियो । कक्षाकोठा र कक्षाकोठा भित्र देखिने समस्या सुल्झाउने तर्फमात्रै छलफल केन्द्रित भएको भन्दै उहाँले कार्यक्रम सार्वजनिक शिक्षा सुधारका लागि सहयोगी भएको धारणा राख्नुभयो ।

पेशागत सवालमा उठेका जिज्ञासामा सार्क शिक्षक फेडरेशनका उपाध्यक्ष विष्णु पाण्डेले कक्षाकोठाको सिकाई प्रभावकारी बनाएर पेशागत अधिकारको आन्दोलनलाई बल पुग्ने धारणा राख्दै त्यसतर्फ लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो । कर्तव्य र अधिकार एकसाथ लैजानका लागि शिक्षकले आफ्नो कक्षाकोठाभित्रको दायित्व पूरा गर्नुपर्ने उहाँको धारणा थियो ।

विद्यालय र अभिभावकहरुको सन्दर्भमा उठेका जिज्ञासाका सन्दर्भमा नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले आफ्ना धारणा राख्नुभएको थियो । उहाँले शिक्षकका हक अधिकारका सवालमा अभिभावकले पनि आवाज उठाइदिने बताउँदै त्यसका लागि शिक्षकले कक्षाकोठाको सिकाइलाई विस्वासयोग्य बनाउनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघका अध्यक्ष मणिराम गिरीले सवैका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढ्ने बातावरण बनाउन आग्रह गर्नुभयो ।

सामुदायिक विद्यालय सुधार ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान सूर्याेदय शैक्षिक प्रतिष्ठानको संयोजनमा जिल्ला शिक्षा कार्यालय धनकुटा, शिक्षा नीति तथा अभ्यास केन्द्र, नेपाल राष्ट्रिय अभिभावक संघ, नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघलगायतको सक्रियता र जिल्लास्थित शिक्षा सरोकारवालाहरुको सहयोगमा सम्पन्न भएको थियो ।