Tuesday, 10 January 2017 13:16

सामुदायिक विद्यालय सुधारको साझा संकल्पः ‘शिक्षकले चाहेमा गर्न सक्छन्’

११ बुँदे संकल्प पत्र जारी गर्दै सामुदायिक विद्यालय सुधार, ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ शिक्षक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्तर्गतको अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । जिल्लाका अधिकांश विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षाविद्, शिक्षा सचिव, शिक्षामन्त्रीलगायत शिक्षा सरोकार पक्षहरुको बृहत सहभागीता रहेको कार्यक्रममा सामुदायिक विद्यालय सुधारका विविध पक्षमाथि छलफल केन्द्रित रहेको थियो ।

15935295 10211611074222156 829970859 o

यस अघि तयार गरिएको काठमाडौं जिल्लाका ४ वटा विद्यालय र अन्य जिल्लाका विद्यालयहको भिडियो प्रदर्शनीबाट सुरु भएको दिनभरको अन्तरक्रिया सामुदायिक विद्यालयको सुधारमा केन्द्रित थियो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिने विविध उदाहरणहरु प्रस्तुत गर्दै शिक्षाविद् तथा अभियान्ता प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकलाई कक्षाकोठा सुधारमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
कक्षाकोठालाई प्रभावकारी बनाउने सुत्रहरु प्रस्तुत गर्दै शिक्षाविद् कोइरालाले कक्षाकोठामा आफूले शिक्षण गर्ने विषयवस्तुमा कसरी अरु भन्दा नयाँ शैली अपनाउँदै सिकाउन सकिन्छ भनेर खोजी गरे धेरै समस्या त्यहिबाट हल हुने धारणा राख्नुभयो । कक्षाकोठाका विषयवस्तुलाई व्यवहारसँग जोड्दै उहाँले शिक्षकलाई पेशागत चिन्तन गर्ने बानीको विकास गर्न आग्रह गर्नुभयो । 

15979105 10211611068542014 884255994 n
शिक्षकलाई उत्प्रेरित गर्ने क्रममा शिक्षामन्त्री धनीराम पौडेलले शैक्षिक सुधारको मुख्य खम्बा शिक्षक नै भएको भन्दै आफुलाई कक्षाकोठामा सक्षम बनाउन आग्रह गर्नुभयो । उहाँले कक्षाकोठामा राम्रो गर्न नसक्ने शिक्षकलाई संस्थागत विद्यालयको व्यवस्थापनले तत्काल हटाउन सक्ने भएकाले त्यहाँका शिक्षक जिम्मेबार बन्दा नतिजा राम्रो आएको उदाहरण दिँदै शिक्षकको व्यवहार र पढाउने तरिका सुधार गनुपर्ने बताउनुभयो । 

कान्तिपुर दैनिकलगायतमा पछिल्लो पटक प्रकाशित भइरहेको सामुदायिक विद्यालयका समाचारले आफूलाई लज्जित बनाएको भन्दै मन्त्री पौडेलले ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ भन्ने अभियान समय सान्दर्भिक रहेको बताउँनुभयो । व्यवस्थापन समिति, अभिभावक, नागरिक समाज, सरकारी निकाय सवैको चासो विद्यालय सुधार तर्फ केन्द्रित हुनपर्ने बताउँदै उहाँले शिक्षकलाई विद्यालयमा पढाउने हैन सिकाउने शिक्षक भइदिन आग्रह गर्नभयो ।

कार्यक्रममा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले सामुदायिक विद्यालयलाई समुदायले विश्वास गर्न नसकिरहेको भन्दै शिक्षकले चाहे मात्रै सुधार संभव रहेको धारणा राख्नुभयो । ‘अभिभावकले पूर्वाधार नभएका छाप्रोमा चल्ने विद्यालय र अध्यारो कोठालाई किन सवैभन्दा बढी विश्वास गर्छन् ?’ उहाँको प्रश्न थियो । उहाँले अभिभावकको विस्वास जित्दै विद्यालय सुधार लाग्नुको विकल्प नभएको धारणा राख्नुभयो ।


सार्क शिक्षक फेडरेशनका पूर्व अध्यक्ष मोहन ज्ञवालीले शिक्षकले आफ्नो पेशागत दायित्व बुझेर समाजको अगुवा बन्नुपर्ने बताउनभयो । उहाँले शिक्षक कार चढ्न शिक्षक नभएको भन्दै गरिबका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिएर आफ्नै पेशाबाट सम्मानित हुन सक्नुपर्ने धारणा राख्नुभयो ।सार्क शिक्षक फेडरेशनका उपाध्यक्ष विष्णु पाण्डेले कर्तव्य र अधिकार एकसाथ लैजानुपर्ने बताउँदै कक्षाकोठाको सिकाई प्रभावकारी भएमात्र शिक्षकका पेशागत अधिकारको आन्दोलन टुङ्गोमा पग्ने बताउँनुभयो । शिक्षाको साझा लक्ष पूरा गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै पाण्डेले शिक्षकलाई आफ्नो कक्षाकोठाभित्रको दायित्व पूरा गर्न आग्रह गर्नुभयो ।

पूर्व प्रधानाध्यापक धनञ्जय शर्माले छाप्रोबाट पनि स्तरीय शिक्षा दिन सकिने बताउँदै त्यसका लागि शिक्षकमा इच्छाशक्ति हुनुपर्ने बताउनुभयो । उहाँले ज्ञानोदय माध्यमिक विद्यालयको प्रधानाध्यापक रहँदा आफु गरेका अभ्यासको अनुभव सुनाउँदै शिक्षकले चाहेमा सुधार गर्न सकिने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी जयाराज आचार्यले जिल्लाको शैक्षिक सुधारका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सबै मिलेर गएमात्र सुधार संभव हुने भन्दै आफ्नो जिम्मेबारी पूरा गर्न प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभएको थियो ।



कार्यक्रम जिल्लाको शैक्षिक स्तरबृद्धिका लागि ११ बुँदे साझा संकल्प–पत्र जारी गर्दै सम्पन्न भएको थियो । कार्यक्रम सू्र्योदय शैक्षिक प्रतिष्ठानको संयोजन र जिल्ला शिक्षा कार्यालयको मुख्य सक्रियतामा सम्पन्न भएको थियो ।
कार्यक्रमबाट पारित साझा संकल्प–पत्र
हामी सामुदायिक विद्यालयमा कार्यरत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु तपशीलमा लेखिएका कार्य गर्ने प्रतिबद्धतासाथ सङ्कल्प गर्दछौं–
१) विद्यालयका कामकाज तथा शिक्षण क्रियाकलापलाई सर्वाेपरी ठानी आचारसंहिता अनुसार कार्य गर्नेछौं ।
२) विद्यालयमा हिंसारहित शिक्षण तथा बालमैत्री शिक्षणलाई प्राथमिकता दिनेछौं ।
३) विद्यालयका लागि तोकिएको समय अन्यत्र कतै लगाउने छौनौं ।
४) जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयताजस्ता सुशासनका कार्यलाई पूर्ण रुपमा पालना गर्नेछौं ।
५) विद्यालय सुधारका लागि योजना बनाई व्यवस्थित ढंगले विद्यालयको सुधार गर्नेछौं ।
६) सकारात्मक अभिभावक शिक्षा प्रदान गर्नेछौं ।
७) शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन शैक्षिक सामग्री तथा आइसिटीको प्रयोग गर्नेछौं ।
८) आफ्ना शिक्षक तथा कर्मचारीका छोराछोरीका साथै नेपाल सरकारका कर्मचारीका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन आवश्यक पहल गर्नेछौं ।
९) विद्यार्थी भर्नामा स्थानीय अभिभावकलाई आकर्षित गर्नेछौं ।
१०) अभिभावकको चाहना र राष्ट्रिय आवश्यकता अनुरुप अंग्रेजी माध्यममा शिक्षण गर्ने वातावरण तयार गर्नेछौं ।
११) भौतिक स्रोत साधन जुटाई सर्वसुलभ शिक्षा प्रदान गर्न मन, बचन र कर्मले कार्य गर्ने प्रतिबद्धता गर्दछौं ।
कृष्णप्रसाद नेपाल – हस्ताक्षर
जानुका नेपाल – हस्ताक्षर
गीता खरेल – हस्ताक्षर
सरोज पाण्डे – हस्ताक्षर
मीमकाजी श्रेष्ठ – हस्ताक्षर
अनिलकुमार झा – हस्ताक्षर
बुद्धिविलास धिताल – हस्ताक्षर