Wednesday, 28 December 2016 08:57

राम्रो गर्ने र केही गरौं भन्नेलाई उत्प्रेरित गर्ने अभियान ‘शिक्षकले चाहेमा गर्न सक्छन्’

जिल्लाको शैक्षिकस्तर बृद्धिमा शिक्षकलाई उत्प्रेरित गर्न सामुदायिक विद्यालय सुधार ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान मोरङको विराटनगरमा सम्पन्न भएको छ ।
पुस ३ गते मोरङको बिराटनगरमा सम्पन्न अन्तरक्रियामा जिल्लाका अधिकांश प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत शिक्षा सरोकार पक्षहरुबीच कक्षाकोठाको सिकाई केन्द्रित अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रमले राम्रो गर्ने शिक्षक–अभिभावकलाई हौसला बढाएको छ भने अरुका लागि ‘केही नयाँ, केही राम्रो गरौ’ भन्नेहरुका लागि सकारात्मक उर्जा थपेको छ । सहभागी शिक्षक तथा अभिभावक प्रतिनिधिबाट भएका राम्रा अभ्यास एवम् उहाँहरुकै जिज्ञासाहरु सुन्ने र त्यसैमा आधारित भएर विज्ञ र सरोकारवाला निकायबाट जवाफ र सुझाव प्रस्तुत गर्ने यस अन्तरक्रियाले विद्यालयमा देखिएका समस्या सुल्झाउन शिक्षकलाई अभिप्रेरित गरेको छ ।

सिकाई प्रक्रियामा कक्षाकोठाभित्र आइपर्ने समस्या, विद्यालयको वातावरण सुधार, शैक्षिक सामग्रीको व्यवस्थापन, शिक्षक–विद्यार्थी नियमितता बढाउने लगायतका शिक्षकले राखेका जिज्ञासामा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले उपायहरु सुझाउनु भएको थियो ।

शिक्षकलाई उत्प्रेरित गर्ने र विद्यालयलाई सिकाई थलो बनाउने विषयमा केन्द्रित यस अन्तरक्रियाको बीच–बीचमा अन्य जिल्लाका राम्रो अभ्यास सम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो । त्यसपछि उठेका शिक्षकका जिज्ञासामा सरोकारवाला पक्षबाट सुझाव र आफ्ना धारणाहरु प्रस्तुत गरिएको थियो ।

शिक्षकका पेशागत हकहितका सवालमा शिक्षकले उठाएका जिज्ञासामा सार्क शिक्षक फेडरेशनका उपाध्यक्ष विष्णु पाण्डेले आफ्नो धारणा राख्दै कक्षाकोठाको सिकाई वातावरण राम्रो बनाई पेशागत अधिकारलाई बल पुर्याउन आग्रह गर्नुभएको थियो । कर्तव्य र अधिकार एकसाथ लैजानुपर्ने बताउँदै उहाँले शिक्षकले आफ्नो पेशागत दायित्व पूरा गरेमात्रै नेतत्वलाई अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

अन्तरक्रियामा नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले शिक्षकका हक अधिकारका सवालमा अभिभावकले पनि आवाज उठाउने बताउँदै शिक्षकले कक्षाकोठाको सिकाइलाई विस्वासयोग्य बनाउनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयमा विस्तारै अभिभावकको विस्वास बढ्दै गएको बताउँदै उहाँले शिक्षकलाई अभिभावकले विस्वास गरेर छोराछोरी पठाइदिएको तथ्य बुझ्न आग्रह गर्नुभयो । त्यसैगरी नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघका अध्यक्ष मणिराम गिरीले सवैका छोराछोरी सामुदायिक विद्यालयमा नै पढ्ने बातावरण बनाउनु पर्ने बताउनुभयो ।

सहभागीहरुलाई संवोधन गर्ने क्रममा क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दाहालले ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान राम्रो गर्ने शिक्षकलाई हौसला थप्दै केही गरौं भन्ने शिक्षकलाई सकारात्मक चिन्तनतर्फ उत्प्रेरित गर्ने अभियान भएको धारणा राख्नुभयो । म पनि राम्रो गर्छु भन्नेहरुको प्रचार गर्दै राम्रो गर्न चाहनेका लागि बाटो देखाइदिने अभियान भएको भन्दै निर्देशक दाहालले आफ्नो ठाउँबाट राम्रो कार्यको थालनी गर्न शिक्षकलाई हौस्याउनुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरि लम्सालले राम्रो गर्नेका लागि कसैले नछेक्ने बताउँदै प्रधानाध्यापकको सक्रितामा केही विद्यालयमा धेरै राम्रो काम भएको बतउनुभयो । उहाँले ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान टोलीले प्रस्तुत गरेको भिडियोको उदाहरण दिदै आफ्नो पेशागत दायित्व पूरा गरे राम्रो गर्न सकिने धारणा राख्नुभयो ।

शिक्षा राज्यमन्त्री धनमाया विक (खनाल) ले शिक्षकले कुनै दलको पछि लाग्ने भन्दा पनि विद्यालयको हितमा काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सबैलाई दलीय भागबण्डामा नलागी आफ्नो पदीय दायित्व पूरा गर्दै विद्यालय सुधारमा लाग्नुपर्ने बताउनुभयो ।

सामुदायिक विद्यालय सुधार ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान सुर्योदय शैक्षिक प्रतिष्ठानको संयोजनमा जिल्ला शिक्षा कार्यालय मोरङको मुख्य सक्रियता र जिल्लास्थित शिक्षा सरोकारवालाहरुको सहयोगमा सम्पन्न भएको थियो ।