Thursday, 22 December 2016 11:16

सप्तरीको शैक्षिक सुधारमा अग्रसरता लिंदै महिला शिक्षक

सामुदायिक विद्यालय सुधार अभियान ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अन्तर्गतको जिल्ला स्तरीय कार्यक्रम सप्तरीमा सम्पन्न भएको छ ।

अभियानलेसप्तरी कार्यक्रम पुसको १ र २ गते ‘महिला शिक्षकले चाहेमा गर्न सक्छन्’ नारासहित महिला शिक्षकहरुको भव्य र उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । करिब १२ सयबढिको सहभागीता रहेको यस अन्तरक्रिया मुख्यतः कक्षाकोठा र महिला शिक्षकका समस्यामा केन्द्रित थियो ।

पहिलो दिन जिल्लाका महिला शिक्षक र महिला शिक्षकले नेतृत्व गरिरहेको विद्यालयहरुको भिडियो प्रस्तुतिसँगै कक्षाकोठा केन्द्रित छलफल भएको थियो ।‘महिला शिक्षकले चाहेमा गर्न सक्छन्’ भन्ने मूल आशयसहित महिला शिक्षकले गरिरहेको राम्रा अभ्यासमा आधारित कक्षाकोठा र महिला नेतृत्वका सकारात्मक पक्षहरुमा छलफल भएको थियो ।

अभियान टोलीले तयार गरेको ‘महिला शिक्षकले सामना गर्नु परिरहेको समस्या’ र ‘महिला शिक्षकले नेतृत्व गरिरहेको विद्यालय’मा आधारित भिडियो प्रदर्शन गरिएको थियो । भिडियो प्रदर्शन संगसंगै अन्तरक्रियामा सहभागीबाट बढि भन्दा बढि जिज्ञासा लिने र त्यहि जिज्ञासामा आधारित रहँदै शिक्षा सरोकार तथा विज्ञहरुबाट सुझावहरु प्रस्तुत गरिएको थियो । विद्यालयको सिकाईस्तर सुधारमा केन्द्रित दोस्रो दिनको अन्तरक्रियामा पनि वक्ताहरुलाई भन्दा शिक्षकहरुको जिज्ञासालाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाइएको थियो ।

कार्यक्रममा महिला शिक्षकहरुले उठाएका जिज्ञासाहरु शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, डा. विनय कुसियत र डा. सुसन आचार्यलगायतले सहजीकरण गर्नुभएको थियो । शिक्षण कला र भाषिक समस्या हटाउने र महिला शिक्षकलाई सहकर्मीबाट हुने विभेदसम्बन्धी समस्या समाधानबारे शिक्षाविद्  कोइराला र कुसियतले सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी लैंगिक समस्या समाधानबारे डा. सुसन आचार्य र डा. लक्ष्मी पौडेलले सहजीकारण गर्नुभएको थियो भने कक्षाकोठा सुधारमा शिक्षकको दायित्व र अधिकारबारे सार्क शिक्षक फेडरेशनका उपाध्यक्ष विष्णु पाण्डेले आफ्ना विचार राख्नुभएको थियो ।

शिक्षकलाई उत्प्रेरित गर्ने र विद्यालयलाई सिकाई थलो बनाउने विषयमा केन्द्रित यस अन्तरक्रियाको बीच–बीचमा विभिन्न जिल्लामा राम्रो अभ्यास गरिरहेका विद्यालयको भिडियो प्रदर्शन गर्दै त्यसमा शिक्षकको जिज्ञासा लिदै त्यसबाट सिक्न सकिने विषयवस्तुमा छलफल गरिएको थियो ।

लैंगिक विभेद न्युनिकरण र कक्षाकोठाभित्रको सिकाई केन्द्रित यस अन्तरक्रियामा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल, क्षेत्रिय शिक्षा निर्देशक केशवप्रसाद दाहाल र जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले शिक्षकले रोखेका जिज्ञासालाई संवोधन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा शिक्षा सरोकारवालाहरुले जिल्लाको शैक्षिकस्तर बृद्धिमा सहयोग पुर्याउन जिल्लास्थित गैरसरकारी संस्था, शिक्षक प्रतिनिधि, विद्यालय प्रधानाध्यापक र जिल्ला शिक्षा कार्यलयका तर्फवाट साझा संकल्प–पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम सुर्योदय शैक्षिक प्रतिष्ठानको संयोजनमा सेभ द चिल्ड्रेन र जिल्ला शिक्षा कार्यालय सप्तरीको मुख्य सक्रियता र जिल्लास्थित शिक्षा सरोकारवालाहरुको सहयोगमा सम्पन्न भएको थियो ।