Sunday, 27 November 2016 06:25

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ शैक्षिक सुधारमा तात्यो धुस्कुन

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्र्तगतको स्रोतकेन्द्र स्तरीय कार्यक्रम बाह्रविसे स्रोतकेन्दस्थित महेन्द्र प्रताप माध्यमिक विद्यालय धुस्कुनमा शनिवार सम्पन्न भएको छ ।
ग्रामिण महिला सिर्जनशील परिवार सिन्धुपाल्चोकको मुख्य सक्रियतामा बाह्रविसे स्रोतकेन्द्रका शिक्षकहरुको सक्रिय सहभागिता थियो । शिक्षक, अभिभावक प्रतिनिधि र विद्यार्थीहरुको सहभागितामा रहेको अन्तरक्रियामा सवै सहभागी आफ्नो विद्यालयलाई कसरी सिकाई थलो बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थिए ।

सहभागितामूलक अन्तरक्रियालाई त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक एवम् शिक्षाविद् डा. विद्यानाथ कोइराला, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. लक्ष्मण ज्ञवाली, पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा अधिकारीलगायतले शिक्षक जिज्ञासाहरुमा सहजीकरण गर्नु भएको थियो ।

नीतिगत र अन्य समस्याहरु भन्दापनि कक्षाकोठाभित्रका सिकाईकेन्द्रित मुद्दाहरु शिक्षण विधि, प्रक्रिया र शैक्षिक सामग्री सम्बन्धि उठेका जिज्ञासाहरुमा दोहोरो अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा उठेका थुप्रै जिज्ञासाहरुमा शिक्षाविद्हरुले  कक्षाकोठा सुधारका बैकल्पिक चिन्तनहरु प्रस्तुत गर्नुभएको थियो ।

शिक्षकहरुले उठाएका कक्षाकोठाभित्रका शिक्षण प्रक्रियासँग सम्बन्धित शिक्षकका विभिन्न जिज्ञासा र अप्ठेराहरु समाधानमा प्रा. डा. कोइरालाले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी अंग्रेजी शिक्षणलाई कसरी सरल र सहज तरिकाबाट शिक्षण गर्ने र त्यसमा शिक्षकले कस्तो भूमिका खेल्न सक्छन् भन्नेबारे डा. लक्ष्मण ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी नीतिगत अप्ठ्याराहरुका बीचमा पनि विद्यालयहरुलाई कसरी गर्व गर्न लायक बनाउन सकिन्छ भन्नेवारे पूर्वप्रधानाध्यापक धनञ्जय शर्माले आफ्नो अनुभव सुनाउनुभएको थियो । पूर्वप्रधानाध्यापक शर्माले विद्यालयमा देखिने भौतिक समस्या, शिक्षकटीम व्यवस्थापन, विद्यार्थी–शिक्षक अनुसासन र विद्यालयलाई आर्थिक मजबुद बनाउनेलगायतका बिषयमा आफुले गरेका अभ्यास र अनुभव सुनाउनुभएको थियो ।

दुई चरणमा भएको दोहोरो अन्तरक्रियाले शिक्षकका थुप्रै जिज्ञासा र कठिनाई विशेषतः कक्षाकोठा केन्द्रित सुधारका तौर तरिकामा सहयोग पुर्याएको थियो । यसले कार्यक्रममा सहभागी शिक्षकको आत्मबल बढाएको अनुभव गर्न सकिन्थ्यो ।
कार्यक्रममा सहभागी जनता आधारभूत विद्यालय फिस्करका शिक्षक देवनारायण यादवले कार्यक्रमबाट नजानेका धेरै कुरा सिक्न पाएको र गरिरहेको कामहरुमा थप राम्रो गर्ने हौसला मिलेको बताउनुभयो । अर्का सहभागी शिक्षक बर्दराज पौडेलले कार्यक्रममा शैक्षिक सामग्रीहरु स्थानीय स्तरमा निर्माण गरेर कक्षाका विषयवस्तुमा जोड्ने तरिका सम्बन्धि पाएको व्यवहारिक ज्ञान निकै घत लागेको धारणा राख्नुभयो ।

हरिसिद्धि आधारभूत विद्यालयका शिक्षक अमृतकुमार भण्डारीले कार्यक्रमबाट शिक्षणलाई प्रभावकारी बनाउने तौर–तरिकाबारे सिक्ने अवसर मिलेको धारणा राख्नुभयो । उहाँले भन्नुहुन्छ,–‘वातावरण सापेक्ष सिकाईका अवयवहरु तय गर्दै जाने र पाठ्यापुस्तकभन्दा पनि सिकाईकेन्द्रित शिक्षण गर्ने सवालमा धेरै कुरा सिक्न पाएको छु ।’
त्यसै गरी धुस्कुन आधारभूत विद्यालयका शिक्षिका लिलावती खत्रीले पनि शिक्षण सिकाईमा शिक्षक–विद्यार्थीहरुका कमी कमजोरीहरु पहिचान गर्ने र अभिभावकलाई विद्यालयप्रति आकर्षित गर्ने तरिका आफ्ना लागि निकै नै उपयोगी हुने बताउनुभयो ।

कार्यक्रम चाइल्ड फण्ड जापानको प्रविधिक सहयोग र ग्रामिण महिला सिर्जनशील परिवार, शारदा मा. वि.स्रोतकेन्द्र बाह्रविसे, श्री महेन्द्र प्रताप मा. विद्यालय र गाउँ बाल संरक्षण समिति, धुस्कुनको सक्रियतामा सम्पन्न भएको होे ।