Saturday, 03 September 2016 04:15

अभियानः के पायौं, के गर्यौं?

अभियानः के पायौं, के गर्यौं?

प्रा.डा. विद्यानाथ कोइराला / शिक्षाकर्मीले अनेकन आरोप सुन्यौं । खेप्यौं । खप्यौं । नीतिगत आरोप रह्यो –नीति नै भएन । हुनेलाई निजी र नहुनेलाई सरकारी स्कुल बनायौं । जन्मजात विभेदिकरण गर्ने नीति । पढेकाहरु काम लाग्ने


सामुदायिक विद्यालय सुधार अभियानः के पायौं, के गर्यौं?–प्रा.डा. विद्यानाथ कोइराला
आरोप प्रत्यारोप
शिक्षाकर्मीले अनेकन आरोप सुन्यौं । खेप्यौं । खप्यौं । नीतिगत आरोप रह्यो –नीति नै भएन । हुनेलाई निजी र नहुनेलाई सरकारी स्कुल बनायौं । जन्मजात विभेदिकरण गर्ने नीति । पढेकाहरु कामलाग्ने बनाँउने नीति नै बनाएनौें । बोली खानेहरु बनायौं । गरिखाने बनाएनौं । कार्यरत आरोेपहरु अनेकन रहे । पद्धति बैज्ञानिक बनाएनौं । व्यावहारिक बनाएनौं। जनवादी एवं जनमुखी बनाएनौं । समाजवादी बनाएनौं । राष्ट्रबादी बनाएनौं । अन्तराष्ट्रि«य प्रतिस्पर्धी बनाएनौं । घर न घाटको । शिक्षित बेरोजगार बनायौं । बोलीखाने मात्रै बनायौं । गरिखाने बनाएनौं । शिक्षकहरु हराम भयौं । पढाएनौं । अनैतिक भयौं । मातेर स्कूल गयौं । व्यवस्थापन समितिका सदस्यहरुले पनि यस्तै गर्यौं ।


भाषगत आरोप रह्यो – नेपाली थोप्यौं । जनजाती बालबालीकाहरुलाई अन्याय गर्यौं । मधेसी बालबालीकाहरुलाई अन्याय गर्यौ । पाठ्यक्रम एवं पाठ्यपुस्तकगत आरोप रह्यो – देश सुहाउदो बनाएनौं । स्थान सुहाउदो बनाएनौं । विद्यार्थीको क्षमता अनुसार बनाएनौं । दलगत आरोप रह्यो – शिक्षक एवं विद्यार्थी दलीय बन्यौं । बनायौं । राजनीतिकदलका चम्चा । तिनकै झोला बोक्यौं । बोकायौं ।

प्राविधिगत आरोप रह्यो – घोकायौं । जीवन्त संन्दर्भ, अनुभव र सीपसंग पढाई जोडेनौं। विद्यार्थीहरुलाई आफै सिक्न उत्प्रेरित गरेनौं । स्वअनुशासित हुने तर्किव सिकाएनौं । बालमैत्री बनेनौं । बनाएनौं । नवीन प्राविधिहरुको प्रयोग गरेनौं । नविन एवं आधुनिक प्रविधिबीच अन्तरसंबन्ध गासेनौं । विज्ञगत आरोप रह्यो । आफै योग्यताहिन रह्यौं । आफुलाई अद्यावदिक गरेनौं । आफै जन्ने भयौं । विद्यार्थीसंग सिक्ने संस्कार बनाएनौं । साथीसंग सिक्ने वुद्धि नै ल्याएनौं । व्यावस्थागत आरोप रह्यो – शिक्षककर्मीहरुलाई दण्ड र पुरस्कृत गर्ने संस्कार नै बनाएनौं ।

अनुगमन, निरिक्षण एवं सुपरिवेक्षण गरेर असल एवं खराब शिक्षक छान्ने संस्कार नै बनाएनौं । सेवागत आरोप रह्यो –  शिक्षकलाई जागीर दियौं । औजार दिएनौं । शैक्षिक सामाग्री । न्युनतम् भौतिक सुविधा । पढन पाढनका लागि न्यनतम परिवेश । पर्याप्त तलवभत्ता । नीतिगत वेइमानी गर्यौं – विद्यार्थी फेल नगर्ने । तीन घण्टामै जाँच्ने वुद्धि । यस्तै यस्तै अनेकन् आरोपहरु पाइरह्यांै । शिक्षकले चाहेमा गर्न सक्छन् अभियानका अभियान्ताहरुले सुनेका,सुनाएका र खेपेका आरोपहरु हुन् यी । प्रत्यारोपहरु हुन् यी ।     

(क)जन्मेका समाधान
चाहने शिक्षकले माथिका आरोप प्रत्यारोपहरु तत्स्थानमै समाधान गरेका रहेछौं । गकै रहेछौं । गर्न सक्ने रहेछौं । ती  चाहने शिक्षकहरुको अनुभवले हामीलाई समाधान दिएको छ ।  दिन्छ । दिनेछ । नीतिगत समस्या औल्याउँदा चाहने शिक्षकले विद्यालय क्षेत्र -School catchment_ का सबैलाई विद्यालयमा ल्यायौं ।आँउन नसक्ने र नभ्याउनेलाई वैकल्पिक शिक्षा दियौं । शिक्षकले नै विद्यार्थीको घरदैलोमा शिक्षादिने प्रवन्ध मिलायौं । विद्यार्थीको सहयोगमा । स्वयंसेवीको सहयोगमा । अभिभावकको सहयोगमा । शिक्षककै जिम्मामा । निजी स्कूलसंग प्रतिस्पर्धा गर्यौं । तिनले पढाउने विषय पढायौं । तिनको चुस्त व्यवस्थापन लागू गर्यौं। अंग्रेजीमा पढ्ने पढाउने व्यवस्था मिलायौं । परिणामतः निजी स्कूललाई बन्द गरायौं । गाभिन बाध्य गर्यौं ।

चाहने शिक्षकको विश्वास रह्यो– हामी ती भन्दा बढी योग्य छौं । ती भन्दा तालीम प्राप्त छौं । एकाध “भाग्यमानी” छोडेर बाँकी शिक्षकले बढी नै तलब पाएका छौं । सरकारी सेवा सुविधा पाउँछौं । यसरी द्धैध शिक्षाको अन्त्य गर्यौं । बोली खानेलाई खरिखाने बनाउने स्कूलमै सीप विकास तालीम शुरु गर्यौं। कसैले आफ्नो स्रोतमा । कसैले अभिभावकको सहयोगमा । कसैले विद्यार्थीसंगै शुल्क लिएर । पढेकालाई काम लाग्ने बनाउन पढाउने शैली बदल्यौं । किताबमा व्यवहार जोडेर । व्यहारबाटै किताव जोडेर । भारी बोकेको उदाहरणबाट गुरुत्वाकर्षण पढायौं । भार पढायौं । आयतन पढायौं ।

घट्ट, ढिकी, जाँतो जस्ता पूर्वजका प्राविधिबाट आधुनिक विज्ञान पढायौं । गाई, भैंसी, बाख्रा, कुखुराको खोर र गोठका डुँढ, टाट्ना, खाना आदिबाट गणित पढायौं । भाषा पढायौं । हरुवा, चरुवा, हली, गोठालाको जीवनीबाट सामाजिक पढायौं । कृषकको कथाबाट अर्थशास्त्र पढायौं । एक अर्को समुदायका चलनचल्तीबाट अनुशासन र नैतिकता पढयौं ।

पढाउँदा जहिलेपनि विकल्प खोज्न लगायौं । कलमको विकल्प के होला ? डटपेनको नि । नीवको विकल्प । भिर्नीको विकल्प । विर्कोको विकल्प । प्रत्येक पाठमा विकल्प खोज्यौं । विद्यार्थीलाई खोजायौं । यो हाम्रो उत्पादनमुखी र उद्यमी बनाउने तर्किव रह्यो ।

(ख) पढाईलाई जीवन र जीविकासंग जोड्ने
चाहने शिक्षकले प्रत्येक पाठलाई व्यवहारिक बनायौं । बैज्ञानिक बनायौं । जनवादी बनायौं । जनमुखी बनायौं । समाजवादी बनायौं । राष्ट्रवादी बनायौं । पूर्खावादी बनायौं । आधुनिक बनायौं । हाम्रो तरिका रह्यो– माटो पढाउँदा किताब नपल्टाउने । प्रत्येक विद्यार्थीको खेतबारीको माटो कस्तो छ भनी साध्यौं । विद्यार्थीको खेतबारीको माटोबारे सोध्दा हामी जनअुखी भयौं । जनवादी भयौं । व्यवहारिक भयौं । राम्रो अनुसन्धानकर्ता भयौं ।

त्यो खेतबारीमा के फल्छ ? बढी बढी फलाउन के गर्नपर्छ ? अरुले बढी फलाउन के गरे ? हामीले बढी फलाउन के गर्न सक्छौं ? के फलाएमा बढी आम्दानी लिन सकिन्छ ? यस्ता प्रश्न गर्दै हामीले विद्यार्थीलाई उत्पादनमुखी बनायौं । पढाईलाई उत्पादनसंग जोड्यौं । माटोमा के मल हाल्यौं ? कुन कुन तत्व मिलेर त्यो मल बनेको छ ? तिम्रो बारीको माटोको अम्लियता के छ ? क्षार के छ ? कुन मल काम लाग्छ ? जस्ता प्रश्न गरेर वैज्ञानिक बनायौं । उत्पादित वस्तुको बिक्री वितरण कहाँ गरिन्छ ? कसरी गरिन्छ भनेर समाजवादी बनायौं । बजारविज्ञ बनायौं ।

कसरी त्यो माटोसंग उनीहरुको सभ्यता र संस्कृति जोडिएको छ ? उनीहरुको खानपानको तौरतरिका कसरी विकसित हुँदै आयो ? यस्ता प्रश्नले राष्ट्रवादी बनायौं । स्थानवादी बनायौं । यसरी आफैं सिक्ने र खोज्ने बनाएर अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी बनायौं । घर र घाट सबैतिर कामलाग्ने कुरा एउटै पाठबाट दियौं । दिन सक्यौं । दिन सकिने रहेछ भन्ने विश्वास बोक्यौं ।

(ग) सबै विचारहरुलाई न्याय गर्ने
चाहने शिक्षकले व्यवस्थापन समिति, अभिभावक, राजनीतिक दल, स्वतन्त्र बुद्धिजीवी, विद्यार्थी, शिक्षक सबैको सहयोग लियौं । यसका लागि हामीले अन्तक्र्रिया ग¥यौं । समूह पिच्छेको । अन्तरसमूहको । हाम्रो विश्वास रह्यो– सबैको बुद्धि छ । अनुभव छ । ती सबै अनुभव र बुद्धि हामीलाई काम लाग्छन् । कुनै तत्कालै काम लाग्लान् । कुनै पछि काम लाग्लान् । कोही सुझावको रुपमा भन्लान् । कोही आक्रमक भएर भन्लान् । कोही ठूला शब्दमा भन्लान् । कोही साना शब्दमा भन्लान् । ती सबैका विचार मिल्छन् ।

“शिक्षामा दलीय मतैक्यता” भन्ने कितावको अनुुभुुतिले हामीलाई थप ऊर्जा दियो । यस क्रममा हामीले केही अनुुभव ग¥यौं । पहिलो अनुुभव हो– कोही आग्रहमा बोल्दा रहेछौं । आफ्नो मान्छेको पक्षमा आग्रही भएर । कोही आफ्नो राजनीतिक दलको पक्षमा आग्रही भएर । कोही आफ्नो कुरा हुनैपर्छ भन्ने दृष्टिकोण राखेर । विविधताको अनुुभव । तर हामीले जान्यौं– विचारहरु मिलाउन सकिने रहेछ । कुनै विचार तत्कालै लागू गर्ने । कुनैबारे परीक्षण गर्ने । कुनैमा थप छलफल गर्ने ।

यसरी सबैका विचार लिने र लागूगर्नै काम गरेर । चाहने शिक्षकले विद्यालय सुधारेका छौं । सरोकारवालाको मनग्ये सहयोग लिएका छौ । चारित्रिक समस्या भएका सरोकारवालालाई पनि लाइनमा ल्याएका छौं ।

(घ) पहिले पेशाकर्मी बन्ने
चाहने शिक्षकहरु आफैं पेशाकर्मी बनेका छौं । सरसफाइमा ध्यान नदिने विद्यार्थीलाई सफा बनाउन कक्षा पिच्छे नै पूराकदको ऐन राखिदियौं । आफूले हेरेर आफैं सफा बन्न । बनाउन । त्यही कक्षाको विद्यार्थीले आफ्नै कक्षामा पढाउने तरिका अपनायौं । विद्यार्थीले गरेर देखाए । कम शिक्षक भए पनि कक्षाको पढाई राकिएन । विद्यार्थीलाई अनुसन्धानमा लगायौं । आफैं पनि शिक्षक–अनुसन्धानमा लाग्यौं । आफ्नै छोराछोरी र भाई बहिनीसंग मोबाइल सिकेझैं माध्यमिक तहका शिक्षकले प्राथमिक तहका शिक्षकसंग सिक्यौं ।

प्राथमिक तहका शिक्षकले माध्यमिक तहका शिक्षकसंग सिक्यौं । योग्यता पुुगेका प्राथमिक विद्यालयका शिक्षकलाई र बालविकास कार्यक्रमका सहयोग कार्यकर्तालाई माथिल्ला कक्षामा पढाउन दियौं । माध्यमिक तहका शिक्षकले प्राथमिक तहका कक्षामा गएर पढायौं । बालविकासमा पढायौं । यसरी नै एक अर्काले लिएका तालीम, गोष्ठी, कार्यशालाको ज्ञान, सीप एवं अनुुभव लिने र दिने प्रबन्ध गर्यौं। आफैंले पनि ‘मैले त यसरी विद्यार्थीलाई सिकाएँ, यसरी आफैं सिक्न प्रेरित गरें, स्वअनुशासित हुने तरिका अपनाएँ’ भन्ने संस्कार बसायौं ।

(ङ) भाषिक सहअस्तित्व कायम गर्ने
चाहने शिक्षकले विद्यार्थीसंग तिनको भाषा सिक्यौं । तिनलाई तिनकै भाषाको माध्यमले पढायौं । कहिले ती भाषाका शब्द प्रयोग गरेर । कहिले ती भाषाका उखान टुक्का भनेर । लोककथा सुनाएर । औषधि गर्ने डाक्टरले जस्तो गरी । विरामीलाई नै प्रश्न सोध्ने । उसैबाट जवाफ लिने तरिका प्रयोग गरेर । यसरी शिक्षक र विद्यार्थीमा एक–अर्काको भाषा सिक्ने, संस्कृति सिक्ने । खानपान सिक्ने, आनीबानी सिक्ने व्यवस्था गर्यौं।

विद्यार्थीलाई क्रियाशिल बनाएर कक्षामा बोलिने सबै भाषाको शब्दावली बनायौं । वाक्यवली बनायौं । सम्बन्धित भााषको लिपी सिक्न सबैलाई प्रेरित ग¥यौं । त्यही लिपीबाट अरु भाषाको लिपी सिक्ने प्रबन्ध गर्यौं । उर्दूूको अलिप (१) अक्षरबाट अल्लाह सिकायौं । नेपालीमा अल्लाह लेख्न लगायौं । तीनवटा अलिफ मिलाएर अंग्रेजीको ए अक्षर लेख्न लगायौं । नेपालीको क अक्षरबाट अंग्रेजीको सी, टी, आई, ओ, क्यू, एच जस्ता अक्षर बनायौं । अंग्रेजीको वी अक्षरबाट नेपालीको अ र उ बनाउने उपाय सिकायौं ।

एक अर्काको भाषा बोल्दा हुने गल्ती पहिल्यायौं । मधिसीले राजेन्दर् किन भन्यो, तामाङले राझेन्द्रा किन भन्यो ? अंग्रेजले किन क्याटम्यान्डूू भन्यो ? नेपाली र संस्कृत बोल्नेले किन काठमाण्डूू भन्यो ? यस्ता प्रश्नहरु गरेर गल्ती हुनु स्वाभाविक हो । सबै भाषामा सबै अक्षर छैनन् । ध्वनी छैनन् । त्यसैले एक अर्काको भाषा सिक्दा भाषिक थेरापी गरौं भन्ने सन्देश बाँड्यौं । त्यही सन्देशलाई कार्यान्वयन गर्न थाल्यौं । भाषिक सहअस्तित्वको थालनी गर्यौं।

(च) दलीय बने पनि हराम नबन्ने
चाहने शिक्षकमध्ये कतिले दलीय झोला बोकिरह्यौं । कतिले बिसायौं । कतिले बिसाउन कोसिस ग¥यौं । कतिले दलीय चिन्तन भन्दा माथि उठ्यौं । जे गर्दा पनि बालबालिका पहिला भन्ने नीति लागू ग¥यौं । जस्ले भर्ना गरे पनि, जस्को झोला बोके पनि नपढाए हामी हराम हौं । समयमा कक्षामा नपसे हराम । पूरै घण्टी नपढाए हराम । खेताला शिक्षक राखे हराम । नियमित रुपमा विद्यालय नगए हराम ।

यसरी हाम्रा हरामीहरु हामीले चिन्यौं. । जस्का झोला बोके पनि आफ्नो पेशा पहला भन्ने चिन्तन बोक्यौं । पेशाको कर्मलाई न्याय गर्न सिक्यौं । राजनीतिक दलका झोले, नेता कार्यकर्ता वा समर्थक बन्दा पनि पूर्णकालीन शिक्षक बन्ने प्रण ग¥यौं । पूर्णकालीन कार्यकर्ता जस्तो । किनभने पूर्णकालीन पैसा त सरकारको खायौं नि । समुदायको खायौं नि । जस्को खाए पनि विद्यार्थीलाई पढाउँछौं भनेर खायौं नि । त्यसमा पनि आफ्नै राजनीतकि दलको शिक्षा नीति लागू गर्दा पनि हराम बन्नेलाई त छोडिन्न नि भन्ने कुरा आफैंले आत्मसात ग¥यौं ।

(छ) जनप्रविधि र आधुनिक प्रविधि जोड्ने
चाहने शिक्षकले स्थानीय ज्ञान खोज्यौं । सीप खोज्यौं । प्रविधि खोज्यौं । सोही ज्ञान, सीप र प्रविधिमा आधुनिक प्रविधिको अन्तरसम्बन्ध खोज्यौं । खाँग्रो बोक्नेले बनाएको खकनमा रुक्स्याक देख्यौं । ढिकीमा र घट्टमा विज्ञान देख्यौं । ढिकी र ढिकुली पम्पको कामबाट प्रविधिमा अन्य कुरा जोड्ने बुद्धि सिक्यौं । बिजुलीले चल्ने ढिकीको कल्पना ग¥यौं । घट्टको कल्पना गर्यौं । दुवैको बल force) मा ऊर्जा (energy) देख्यौं ।

त्यो ऊर्जालाई बिजुली बत्तीमा परिवर्तन गर्ने संभावना देख्यौं । क्रमशः रिमोट कन्ट्रोलबाट चलाउँने बुँदा भेट्यौं । भोलिको ढिकी टच स्क्रिनवाला हुनसक्छ भन्ने बुुझ्यौं । बनाउँन सकिन्छ भन्ने कुरा स्वीकार्यौं। यसरी जनप्रविधि र आधुनिक प्रविधि बीचको सह–सम्बन्ध थाहा पायौं ।

(ज) स्वसम्मानित बन्ने
चाहने शिक्षक स्वसम्मानित बन्दोरहेछ । विद्यार्थीको वर्षशिक्षक बन्न सक्ने रहेछौं । विद्यालय व्यवस्थापनका वर्ष शिक्षक बन्ने रहेछौं । गाउँ विकास समिति÷नगरपालिकाका वर्षशिक्षक हुने रहेछौं । गैरसरकारी संस्थाका वर्ष शिक्षक बन्ने रहेछौं । त्यसका लागि हाम्रो ध्यान कक्षाकोठामा हुनुुपर्ने रहेछ । विद्यार्थीको चौतर्फी उन्नतिमा । प्रश्न सम्मानित गर्ने व्यक्ति को हो भन्ने मात्रै रहेछ । दोसल्ला ओढाइ दिने । प्रमाणपत्र दिने । खादा ओढाई दिने । अन्य कुनै उपाय गर्ने ।

यसरी शिक्षक स्वयं सम्मानित बन्न सक्ने रहेछौं । सम्मानित हुने रहेछौं । राज्यले सम्मान गरेन भन्ने गुनासोबाट मुक्त हुने रहेछौं । दलीय सम्मान पाइएन भन्ने समस्यामा अल्झिने रहेनछौं । यो चिन्तनबाट स्वयं अनुुगमित हुने बुद्धि ल्यायौं । स्वयं निरिक्षित हुने काम गर्यौं । किनकि हामीले बुुझ्यौं– अनुुगमन र निरीक्षण त पशुलाई गर्नुुपर्ने रहेछ । स्वयं अनुगमित र निरिक्षित हुनेलाई समस्या नै रहेनछ । आफैं सिक्ने खोज्नेलाई घोत्लिने र अनुसन्धान गर्ने बुद्धि नै काफी रहेछ । मधेसदेखि हिमालसम्मका व्यक्तिले एउटै खाले चुलो बनाउन कसरी जाने ? भिन्नै खाले किन बनाए ?

यी र यस्तै प्रश्नले हामीलाई घोत्ल्यायो । खोजायो । अनुसन्धान गरायो । तिम्रा घरको चूलोको तस्वीर बनाउ भनेर विद्यार्थीसंग सिक्ने बुद्धि दियो । यसरी स्वज्ञान बढाउने, स्वयं अनुुगमित हुने, निरिक्षित हुने र सम्मानित बन्ने उपाय सिकायो ।

(झ) आफ्नो औजार आफैं खोज्ने, आफैं तिखार्ने
चाहने शिक्षकले आफ्नो औजार आफैं बनायौं । आफैं खोज्यौं । आफैं तिखार्यौं । सिकर्मीले जस्तो । डकर्मीले जस्तो । त्यस क्रममा हामीले थाहा पायौं– हर अनुुभव शैक्षिक सामग्री बन्दो रहेछ । हर वस्तुु शैक्षिक सामग्री हुँदोरहेछ । त्यसैले फर्सी र घिरौंला, लालुुपाते र निमको पातले रंग पढाउन थाल्यौं । रेखा गणित पढाउन थाल्यौं । विज्ञान पढाउन थाल्यौं । सामाजिक पढाउन थाल्यौं । ती पाँचवटै पातलाई सुुकाएर दिगो राखी वनस्पति शास्त्र पढाउन थाल्यौं ।

नेपाली शैक्षिक सामग्री । यसो गर्दा कुन पाठ कसरी पढाउने ? त्यहाँ सामग्री के खोज्ने ? के जोड्ने ? कसरी जोड्ने ? भन्ने बुद्धि जन्मियो । अनुुभवमा जोड्ने सामग्री । दृश्यपटलमा जोड्ने सामग्री । सिकर्मीको रावो र बसिलाबाट के पढाउने ? डकर्मीको कर्नी र घण्टीबाट के पढाउने  भन्ने बुद्धि बनायौं । यो बुद्धिले हाम्रो यो छैन र ऊ छैन भन्ने गनगने बुद्धि हरायो । पृथ्वीको बनोट पढ्न पेट देखाउन थाल्यौं । भित्र तातो, बाहिर चिसो । ठीक्क तापक्रम भए पछि पेटमाथि परेको लुुगामा जुम्रा जन्मिए । यसरी हामीले आफ्नो औजार आफैं खोज्ने, बनाउने र तिखार्ने बुद्धि बोक्यौं ।

(ञ) चाहने शिक्षकले नीतिको विश्लेषण गर्यौं। उदार कक्षोन्नतिको । निरन्तर मूल्यांकनको । ७५ प्रतिशत हाजिर पुुग्नेलाई स्कूलको स्टेण्डअप परीक्षामा नरोक्ने नीतिको । तीन घण्टाको जाँचबाट विद्यार्थीको पूरौ मूल्यांकन हुन्छ भन्ने दृष्टिकोणको । त्यो विश्लेषणले भन्यो– उदार कक्षोन्नतिको मर्म विद्यार्थीलाई समकक्षी बनाउने रहेछ । समान बनाउने हैन रहेछ । बीएस्सी र बीएड जस्तो । समान छैनन् । हुन्नन् पनि । तर समकक्षी चाहिं हुन् ।

यो बुुझाइबाट थाहा पायौं– उदार कक्षोन्नति (liberal promotion) गर्दा सबै विद्यार्थीको उत्तर दिने एउटै क्षमता भन्ने होइन रहेछ । एउटाले गाईगोठबाट गणित सिक्यो । अर्काेले परम्परागत प्रक्रियाबाट । दुवैको क्षमता उत्ति हो । गणितको ज्ञान । सक्षमता (competency) प्रदर्शन गर्ने तरिका न भिन्न हो । यसरी स्वीकार्दा उदार कक्षोन्नतिको अर्थ विद्यार्थीको व्यक्तिगत क्षमतासंग सम्बन्धित हुँदोरहेछ ।

उसको क्षमता उजागर गर्न सुधारात्मक उपचारात्मक कक्षा (remedial class/therapeutic class) चाहिने रहेछ । त्यस्ता कक्षाबाट कमजोर विद्यार्थीलाई पनि समकक्षी बनाउन सकिने रहेछ । त्यसैका लागि निरन्तर मूल्यांकन चाहिने रहेछ । हिजोको उपचारात्मक (therapeutic) तरिकाले के काम ग¥यो ? सुधारात्मक कक्षाले के काम गर्यो ? यस्ता कुरा निर्णयात्मक परीक्षाले बुुझ्दो रहेनछ । यही सोचले ७५ प्रतिशत हाजिरीको कुरालाई पनि बुुझ्न सक्यौं । ७५ प्रतिशत हाजिरी हुुनेले पक्कै केही न केही सिक्यो । त्यो समान सिकाई नभए पनि समकक्षी सिकाई हो । यस्तो बुद्धिले कुरोको मर्म बुुझ्यौं । तदनुुरुप काम गर्दा विद्यार्थी फेल गर्नुुपर्ने रहेनछ । बरु सिकाउन पुुगेनछ ।

आफैं सिक्नका लागि उत्प्रेरित गर्ने तरिका पो मिलेनछ । सरकारको नीति त लगानीको प्रभावकारिताका लागि (systemic efficiency) का लागि पो ल्याएको रहेछ भन्ने बुुझ्यौं । यी र यस्ता बुुझाइबाट हामीले प्रत्येक नीतिको मर्म बुुझ्नेबानी बसाल्यौं । तदनुुरुप काम गर्ने आदत बसाल्यौं ।

निचोड
चाहने शिक्षकले बुुझ्यौं– बुद्धि बन्दोरहेछ । बनाउन सकिने सकिंदोरहेछ । निरक्षरहरुले पनि बनाउँदा रहेछन् । जस्तो विज्ञले डडेलधुुराको उद्यम गर्न उत्साही व्यक्तिलाई परालमा च्याउ फलाउने बुद्धि दियो । पहिले उनीहरुले धनगढीबाट पराल झिकाएर च्याउखेती गरे । हाल डडेलधुुराका उत्साहीले आफ्नो बुद्धि जोडे । त्यहीं पाइने मकैको खोस्टामा च्याउ फलाए । सालको पातमा च्याउ फलाए । राम्रो चयाउ फल्यो । धेरै फल्यो । परालमा २–३ पटक मात्रै फल्ने च्याउ खोस्टामा ५(६ पटक फल्यो । यो विज्ञको बुद्धि होइन । जनबुद्धि हो ।

जनताले आफैं परख (test) गरेको बुद्धि । निरक्षर जनता यसरी बुद्धि लगाउँदा रहेछन् । हामी शिक्षकले किन त्यो बुद्धि ननिकालेको त ? मेरो आफ्नै गणित पढाउने बुुद्धि । विज्ञान पढाउने मेरै बुद्धि । सामाजिक पढाउने मेरै बुद्धि । यसको निम्ति निरन्तर सोच, खोज, परीक्षण, अनुसन्धान गरिरहनुुपर्ने रहेछ । सुुधार चाहने शिक्षकको बुद्धि त्यस्तो हुने रहेछ । नचाहनेको बुद्धि चाहिं निषेधी बन्दोरहेछ– फलानाले बिगा¥यो । तिलानाले यसो ग¥यो भन्दै हिंड्ने रहेछ ।


चाहने शिक्षकले सोच्तो रहेछ । अनुसन्धान गर्ने रहेछ । प्रत्याभूति (reflection) गर्दोरहेछ । सिर्जनशील बन्दोरहेछ । समालोचक (critical) बन्दोरहेछ । प्रवर्तक बन्दोरहेछ । यही क्रममा समस्या देख्ने रहेछ । समाधान खोज्दो रहेछ । कतै हामी पनि सामुदायिक विद्यालय सुुधार्न चाहने शिक्षक पो बन्ने कि ? बन्नेहरुको सञ्जाल पो बनाउने कि ? नबन्नेलाई चाहने शिक्षक बनाउन प्रेरित गर्ने कि ?आजै । अहिल्यै । जहाँ बस्यो त्यहींबाटै ।