Saturday, 03 September 2016 04:07

शिक्षणको ‘स्मार्ट’ तरिका

शिक्षणको ‘स्मार्ट’ तरिका

 चन्द्रिका श्रेष्ठ / शिक्षण सजिलो छैन, तर यसलाई रमाईलो भने पक्कै बनाउन सकिन्छ । जब शिक्षकले कक्षामा रमाइलो वातावरण सिर्जना गर्छन् केटाकेटीहरू पनि रमाउँदै सिक्ने प्रक्रियातिर उन्मुख हुन्छन् । कुनै पनि विषय शिक्षण गर्दा ‘स्मार्ट’ तरिकाले रमाइलो वातावरणमा सिकाउन सकिन्छ । हामी यहाँ केटाकेटीलाई कसरी रमाइलो तरिकाले शिक्षणमा ध्यान केन्द्रित गराइराख्ने भन्ने पद्दतिलाई ‘स्मार्ट’ तरिका भन्न सक्छौँ । अध्ययनहरूले यस्तो विधिबाट शिक्षण गर्दा विद्यार्थी सक्रियता बढेको देखाएको छ । 

 

गीत/संगीत
राम्रो गीत, संगीत कसलाई मन पर्दैन र ? गीत संगीतले विद्यार्थीलाई लामो लामो वाक्य र शब्दहरू पनि सम्झाउन मद्दत गर्न सक्छ । यस्तो गीत सिकाउँदा सजिलो र बोलीचालीको भाषाको गीत सिकाउन सकिन्छ । गीत सिकाउँदा जहिले पनि २ वा ४ लाइनको हरफमा सिकाउँदा केटाकेटीले सम्झिन सक्छन् । यसरी गीत संगीतको माध्यमबाट सिकाउँदा केटाकेटीहरू कक्षामा रमाइलो मानी मानी सिक्नेछन् । अध्ययनहरूले पनि केटाकेटीहरूलाई यसरी सिकाउँदा छिट्टै सिक्ने देखाएको छ । 

 

शिक्षण सामग्री प्रयोग

 

सिकाईलाई अझ प्रभावकारी बनाउन तपाई आफ्नो वरिपरि भएका जुनसुकै चिजबस्तुलाई उपयोग गर्न सकिन्छ । गणना गर्नको लागि सबैको सिसाकलम जम्मा गरी गन्न सकिन्छ, लेखिसकिएका कागज वा कपीलाई विभिन्न आकारमा काट्न सकिन्छ, नापतौल सिक्नको लागि ब्लकले टावर बनाउन सकिन्छ । 

 

यसरी शिक्षण सामग्री प्रयोग गरी पढाउँदा केटाकेटीहरूले पढाएको बुझ्छन् र त्यसको आफ्नै तरिकाले अर्थ लगाउन वा शब्द निर्माण गर्न सक्छन् । कतिपय शिक्षकहरू यस्ता सामग्री प्रयोग गर्दा केटाकेटीहरूको ध्यान पढाइमा केन्द्रित नहुने बताउँछन् तर वास्तवमा शिक्षणको बेला कुनै नियमहरू बनाएर यसलाई रोक्न सकिन्छ । केटाकेटीलाई यो शिक्षण सामग्री प्रयोगको उद्देश्य स्पष्ट पार्न सकिन्छ । 
कलाको प्रयोग

 

केटाकेटीलाई कुनै पाठ पढाउँदा कलाको माध्यमले धेरै भन्दा धेरै बुझाउन सकिन्छ । गणित शिक्षणको समयमा तालिका, नाप तथा आकारबारे कुनै चित्र कोरेर धेरै बुझाउन सकिन्छ । त्रिकोण, वर्गाकार भन्दा केटाकेटीले नबुझ्न सक्छ तर यस्तो आकारलाई त्रिकोण भनिन्छ, यसलाई वर्गाकार भनेर चित्र कोरेर देखायो वा चित्र कोर्न सिकायो भने त्यो केटाकेटीले सधैँका लागि बुझ्न सक्छन् ।

 

खेल/कसरत
खेल माध्यमबाट पनि शिक्षणलाई सजिलो र रमाइलो बनाउन सकिन्छ । खेल माध्यमबाट केटाकेटीलाई सिकाउँदा उनीहरूले सैद्धान्तिक मात्र नभई व्यवहारिक रुपमा पनि त्यो शिक्षण बारे बुझ्नेछन् । यसका लागि हामी विभिन्न खेलहरूलाई लिन सक्छौँ । खेल खेलाउँदा केटाकेटीहरूको ध्यान पूर्ण रुपमा उक्त खेलमा केन्द्रित हुन जान्छ र खेलले जुन सन्देश वा शिक्षा दिन खोजेको हो त्यो केटाकेटीले स्पष्ट बुझ्छन् । 

 

प्रविधिको प्रयोग

 

शिक्षणका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रविधिको प्रयोग हो । प्रविधिलाई शिक्षणका लागि प्रयोग गरी कक्षामा अन्तक्र्रियात्मक बहस वा छलफल गर्दा त्यो विषयमा विद्यार्थीले दक्षता हासिल गर्न सक्छ । प्रविधिका रुपमा कक्षामा सेतो पाटी, ल्यापटप, कम्प्युटर, प्रोजेक्टर, क्यामेरा आदिलाई प्रयोग गर्न सकिन्छ । कम्प्युटर सफ्टवेयरहरूको प्रयोग गरी विभिन्न समस्याहरू समाधान गरी देखाउन सकिन्छ । 

 

अडियो/भिडियो कथा

 

केटाकेटीलाई कथाको माध्यमबाट पनि रमाइलो वातावरणमा शिक्षण गराउन सकिन्छ । यसका लागि कथा भन्दै शब्दजालहरू दिने, वास्तविक कथाहरू, चित्रहरू देखाई त्यसबारे भन्न सकिन्छ । शिक्षणको बेला कथा भन्ने मात्र होइन, भिडियोबाट कथाहरू देखाउन पनि सकिन्छ । 

 

(श्रेष्ठ, बालश्रृजनालय माध्यामिक विद्यालय, आरूबारी, जोरपाटीमा शिक्षिका हुनुहुन्छ ।)