Saturday, 03 September 2016 02:57

शिक्षकले पेशागत धर्म नगुमाऔ

शिक्षण पेशामा प्राध्यापक डा. विद्यानाथ कोइरालाको लोभलाग्दो सक्रियता देख्ने धेरैलाई शिक्षणमा उहाँको पृष्ठभूमि बारेमा कम ज्ञान हुनसक्छ । तर, कक्षा पाँच र छ मा पढ्दादेखि नै सोही विद्यालयका साना कक्षाका विद्यार्थीलाई पढाउन पाउने उहाँ जन्मजात शिक्षक जस्तो लाग्नु हुन्छ । ८,९ र १० कक्षा पढ्दा होस् वा एसएलसीपछि उहाँले पटक पटक पढाउनु भयो । आइएड सकेपछि त उहाँ आफैं पढेको कुशेश्वर माध्यमिक विद्यालय दुम्जामा प्रधानाध्यापक भएर २०३० पुसदेखि २०३३ सम्म तीन वर्ष अध्यापन गर्नुभयो ।

एमएड पढ्दा राष्ट्रिय विकास सेवा अन्तर्गत १० महिना मनाङको माध्यमिक विद्यालय ठोंचेमा पढाउनु भएका प्राध्यापक कोइरालाले २०३६ देखि २०३९ सम्म तीन वर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गत बुटवल क्याम्पस र बीरगंज क्याम्पसमा पढाउनुभयो ।

२०३९ देखि २०५२ सम्म उहाँको शिक्षा अनुसन्धान यात्रा प्रारम्भ भयो । उहाँले सेरिड अन्तर्गत रहेर शिक्षाका विभिन्न क्षेत्र र विषयमा अनुसन्धान गर्नुभयो । २०५२ सालदेखि पुनः उहाँको शिक्षण यात्रा शुरु भयो । उहाँले शिक्षाशास्त्र संकायमा एमएडका विद्यार्थीलाई पढाउन थाल्नुभयो र अनुसन्धान कार्य पनि जारी राख्नुभयो । यसपटक शिक्षण प्रमुख र अनुसन्धान सहायक कार्य भयो । यसबीचमा केही समय उहाँले काठमाडौं शिक्षा क्याम्पसमा पनि पढाउनुभयो । २०६३ सालदेखि उहाँले निरन्तर त्रिवि अन्तर्गत शिक्षाशास्त्र तर्फको एम फिल कार्यक्रमको नेतृत्व गरिरहनुभएको छ ।

"सामुदायिक विद्यालय सुधारः शिक्षकले चाहेमा गर्न सक्छन्" अभियान थालनीदेखि नै प्राध्यापक कोइराला संलग्न हुनुहुन्छ । सकेसम्म सबै ठाउँका कार्यक्रममा संलग्न भएर सामुदायिक विद्यालयका शिक्षकहरुलाई उत्प्रेरित गर्दै थुप्रै उदाहरणका माध्यमबाट बैकल्पिक शिक्षणका उपायहरु बताउँदै आउनुभएको छ । उहाँको उपस्थितिले सहभागीहरुमा कौतुहलता र उत्साह थप्ने गरेको छ ।

यस भिडियोमा उहाँले अभियान अन्तर्गत लमजुङमा आयोजित कार्यक्रममा व्यक्त गर्नु भएका मन्तब्यका संपादित अंशहरु प्रस्तुत गरिएको छ ।

Media