Friday, 02 September 2016 10:58

सामुदायिक विद्यालय सुधार अभियान, ‘शिक्षकले चाहेमा गर्न सक्छन्’

विद्यालय बिगार्ने र सपार्ने शिक्षक नै हुन् । इष र योजना बोकेका मेहनती शिक्षकहरुले विद्यालयको गिर्दो अवस्थामा टेको लगाउन सक्ने रहेछन् । इष र योजना नभएका शिक्षकहरुले अरुलाई दोष दिएर विद्यालयलाई कहिल्यै उँभो लाग्न नसक्ने बनाउँदारहेछन् । एउटा विद्यालय सपार्ने र बिगार्ने प्रमुख व्यक्ति शिक्षक हो र त्यसमा पनि विद्यालयको प्रधानाध्यापक भन्ने निक्र्योल पछि हामीले एउटा अभियानको थालनी गयौं– ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ भनेर ।

एकपछि अर्को तालीम र चौतर्फी असफलताको बोझले थलिएका शिक्षकहरुलाई उत्प्रेरणाको जरुरी थियो । सूर्योदय शैक्षिक प्रतिष्ठानले उत्प्रेरणाको राष्ट्रब्यापी अभियान योजना बनायो । यो योजनामा जिल्ला शिक्षा कार्यालयहरुलाई प्रमुख नेतृत्वकर्ताको रुपमा खडा गर्ने उद्देश्य थियो ।

कार्यक्रमको एउटा ढाँचा तयार गरेका थियौं, जिल्ला शिक्षा कार्यालयले स्थानीयस्तरमा सहभागी जुटाउने, भिडियो खिच्नका लागि विद्यालयहरुको छनौट गर्ने, कार्यक्रममा बक्ता र सहभागीहरु एक आपसमा बसेर तय गर्ने, प्रोफेसर डा.विद्यानाथ कोइरालाले शिक्षकहरुका समस्या, गुनासाहरु र पठनपाठनका समस्याको सहजिकरण गर्ने, जिल्ला शिक्षा कार्यालयले भौतिक लगायत विद्यालयसंग सम्बन्धित सवालहरुको सम्बोधन गर्ने, रोलमोडल शिक्षकहरुले आफ्ना अनुभव सुनाउने, सहभागीहरुले कर्तव्य र व्यवसायिकता प्रति प्रतिबद्धता व्यक्त गर्ने ढंगका एक दिने सहभागितामुलक अन्तक्र्रिया ।

हामी कार्यक्रम कुन जिल्लाबाट शुरु गरौं भन्ने सोचाईमा थियौं । हामीले दोलखाका केही विद्यालयहरुसंग मिलेर यस अघि नै केही कार्यहरु थालिसकेका थियौं । त्यसैले दोलखाबाट नै यो कार्यक्रम शुरु गर्ने निर्णय गर्यौं । तत्कालीन शिक्षा अधिकारी गेहनाथ गौतमसंग हामीले आफ्नो अभियानको विषयमा कुरा राख्यौं । उत्साही युवा शिक्षा अधिकारी गौतमले हाम्रा कुरालाई सहज रुपमा लिनु भयो र २०६७ चैत्रमा ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानको पहिलो कार्यक्रम दोलखामा सम्पन्न भयो ।

कार्यक्रममा शिक्षक, राजनीतिक दलका प्रतिनिधि, शिक्षकका जिल्लास्तरीय ट्रेड युनियनका प्रतिनिधिहरु, पत्रकार, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको उत्साहजनक सहभागिता रह्यो । करीब १०० प्रतिनिधिको सहभागितामा सम्पन्न कार्यक्रम तीन बुदे दोलखा घोषणापत्र पारित गरेर सम्पन्न भयो । यही कार्यक्रममा हामीले ४ महिनापछि मूल्यांकन कार्यक्रम गर्ने घोषणा गरेका थियौं ।

यो कार्यक्रमले हामीलाई ठूलो हौसला दियो । यसबीचमा हामीले विभिन्न तयारीहरु गर्दै रह्यौं । शिक्षा पत्रकार समूहसंग मिलेर काठमाडौंमा दोस्रो कार्यक्रम गर्यौंं । शिक्षकका ट्रेडयुनियनहरुसंग बहस प्रारम्भ गर्यौं  । शिक्षा विभागकै सभाकक्षमा कार्यक्रमको आयोजना गरेर विभागलाई अभियान सम्बन्धी जानकारी गरायौं ।

सबैतिरबाट ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानलाई साथ मिलेपछि हामीलाई यो अभियान देशब्यापी रुपमा अगाडि बढाउन दबाब पर्दै गयो । यही बीचमा चार महिना बितिसकेको थियो । हामीले दोलखामा मूल्यांकन कार्यक्रम आयोजना गर्ने निर्णय गर्यौं । सामुदायिक विद्यालय सुधार अभियानमा सक्रिय र उत्साही जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम तयार भइहाल्नु भयो । मूल्यांकन कार्यक्रम आयोजना भयो । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रह्यो ।

पहिलो कार्यक्रममा “शिक्षकले मात्रै सुधार्ने हो भने अरुले के हेरेर बस्ने ? यो अभियानले शिक्षकमा अनावश्यक बोझ थोपर्न खोज्यो” आदि भन्ने शिक्षकहरुले आफूले विद्यालय सुधारेको कथाहरु सुनाए । गरे हुने रहेछ भन्ने अनुभव पेश गरे । व्यवस्थापन समिति र शिक्षकहरुबीच सुधारलाई केन्द्र बिन्दु बनाएर अघि बढ्ने सहमति भए । केही हुँदैन भन्ने शिक्षकलाई राम्रो गरिरहेका शिक्षकहरुले चुनौति दिए । स्थायीले भन्दा अस्थायीले राम्रो गरिरहेको कुरा आए । अस्थायी शिक्षकले आफू अस्थायी भन्दा पनि एउटा शिक्षक भएको र विद्यालयमा रहुञ्जेल राम्रो गर्ने बताए ।

निश्चय नै कार्यक्रममा सरकारले यसो गरेन, उसे गरेन, शिक्षकलाई यो भएन, उ भएन भन्ने कुरा पनि आए । त्यसलाई शिक्षा अधिकारीले तत्काल सम्बोधन गर्नुभयो । यस अभियानका सहजकर्ता प्रोफेसर डा. विद्यानाथ कोइरालाले सहज रुपमा शिक्षकहरुका कक्षा कोठासंग सम्बन्धित दैनिक कठिनाईका प्रश्नको सरल जवाफ दिएर शिक्षकहरुलाई हौस्याउनु भयो ।

शिक्षकका टेडयुनियनका पदाधिकारीहरु– मोहन ज्ञवाली, भोला सापकोटा, मध’ तिमल्सिना र इन्दिरा सापकोटा, लगायतले शिक्षकहरुको काँधमा आएका दायित्वहरु प्रष्ट्याउँदै कक्षाकोठा सुधारमा शिक्षक समुदायको सक्रियताका लागि हौस्याउनु भयो ।

सूर्योदय शैक्षिक प्रतिष्ठानको उद्देश्य यो कार्यक्रममा शिक्षक युनियन लगायतका सरोकारवालाहरुको सक्रिय नेतृत्व रहोस भन्ने थियो । यसै अनुरुप भएका छलफल पछि दोलखामा मूल्यांकन कार्यक्रम गर्दासम्म अभियानका सहयात्रीहरुको संख्या बढेको थियो । शिक्षक युनियन, शिक्षा पत्रकार समूह र शिक्षक मासिक अभियान सहयात्रीमा थपिएका थिए । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको सक्रिय सहभागिता हामीले पाइसकेका थियौं । दोलखापछि अहिलेसम्म हामीले ललितपुर, मकवानपुर, लमजुङ, चितवन, सिन्धुपाल्चोक, बागलुङ, बाजुरा, मुगुलगायत सुदुरपश्चिमको डोटी, डडेल्धुरा, तराईका धनुषा, सिरहा, सप्तरी हुदैं पूर्वका झापा, इलाम, पाँचथर लगायत ३० भन्दा बढि जिल्लामा जिल्लास्तरीय कार्यक्रम र  केही जिल्लामा स्रोतकेन्द्रस्तरीय कार्यक्रमसमेत सम्पन्न गरेका छौं ।
यी सबै कार्यक्रमहरुको सफलता र प्रभावकारिताले हामीलाई उत्साहित बनाइरहेको छ ।

अहिले अभियानमा सूर्योदय शैक्षिक प्रतिष्ठानका अतिरिक्त शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय, शिक्षा पत्रकार समूह, शिक्षक मासिक र शिक्षा नीति तथा अभ्यास केन्द्र सहयात्री बनेका छन् । शिक्षक संघसंगठनको ठूलो सहयोग छ । कुशल पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा अधिकारीले यो अभियानमा सहभागी हुने प्रतिबद्धता जाहेर गरेर कुनै पनि कार्यक्रम छुटाउनु भएको छैन । कार्यक्रममा उहाँले अनुभव बाँड्दा सहभागीहरुलाई ठूलो हौसला मिलेको छ ।

“आजको शिक्षा” साप्ताहिकले शुरुदेखि नै यो अभियानलाई साथ दिएको छ । स्थानीय गैरसरकारी संस्थाहरुले चासो देखाएको छन् । हामी यसमा अरु पनि सरोकारवालाहरुको सहभागितालाई बढाउँदै लैजाने क्रममा छौं । यो अभियानप्रति सबैको विश्वास र सहभागिता बढेपछि यसको माग पनि बढ्दै गएको छ । जिल्ला शिक्षा अधिकारी र शिक्षक युनियकका पदाधिकारीहरु अब हाम्रो जिल्लामा कार्यक्रम कहिले गर्ने भनेर हामीलाई झक्झक्याइ रहनुभएको छ ।

यो अभियान शिक्षा सुधारको मेरुदण्ड त होइन । तर, लामो समयदेखि चौतर्फी रुपमा आक्रमणको शिकार भएका शिक्षकहरुका लागि हौसला र उत्प्रेरणा दिने मञ्च हो । यसले एक आपसमा सिक्ने वातावरण दिन्छ । “सबै शिक्षक र विद्यालय खराब छन्” भन्ने जसरी प्रचार भइरहेको समयमा राम्रो गरिरहेका शिक्षकहरुलाई यसले एउटा मञ्च दिएको छ । केही गरौं भन्ने भावना भएकाहरुलाई गरे हुँदोरहेछ भन्ने महसुस गराएको छ र उत्प्रेरणा दिएको छ ।

शिक्षा सुधारका लागि सकारात्मक सन्देश प्रवाह भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा त एकअर्काको आलोचक जस्ता देखिने सबै सरोकारवाला निकायहरु एकै ठाउँमा बसेर सामुदायिक विद्यालय सुधारको विषय केन्द्रित वहस प्रारम्भ भएको छ । शिक्षकका ट्रेड युनियनहरु अधिकारका साथसाथै कर्तव्यको कुरामा जोड दिइरहेका छन् । राजनीतिक पार्टीको होइन, व्यवसायिकताको झोला बोक्ने शंखघोष गर्न थालेको छन् ।